काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) धितोपत्र व्यवसायी नियमावलीमा संशोधनका ७ बुँदे प्रस्ताव गरिएको छ। धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर), नियमावली, २०६४ को छटौँ संशोधनका लागि सेबोनले प्रस्तावित बुँदा अध्ययन गरी मस्यौदा तयार गर्न थालेको हो।
सेबोनले २०७९ भदौ २९ गते स्टक ब्रोकर नियमावली २०६४ को पाँचौँ संशोधन गर्दै नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्सको बाटो खुला गरी पुराना ब्रोकरको पुँजी वृद्धि गराएको थियो। उक्त समय पुराना ब्रोकर कम्पनीलाई तीन वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो। नियामवालीले निर्धारण गरेको समय २०८२ असार मसान्तसम्म हो।
उक्त समयसम्म ५० वटा पुराना ब्रोकर कम्पनीहरू न्यूनतम पाँच करोड रुपैयाँसम्म चुक्ता पुँजी लिएर सञ्चालन भइरहेका थिए। कुनै पनि कम्पनी चुक्ता पुँजी २० करोड रुपैयाँ थिएन। तीन वर्षको समयभित्र अर्थात् जेठ पहिलो सातासम्म ८ वटा ब्रोकर कम्पनीले मात्रै २० करोड रुपैयाँ पुँजी कायम गरेको जानकारी सेबोनमा गराएका छन्।
बाँकी ४२ वटा कम्पनीलाई निर्धारित समयमा तोकिएको पुँजी कायम गर्न समस्या भएको भन्दै गत वैशाख अन्तिम साता स्टक ब्रोकर्स एशोसिएसनले समयसीमा बढाउन प्रस्ताव गरेको थियो।
संघले ब्रोकरको पुँजी थपको समयसीमा थपसँगै ब्रोकरको सेयर स्वामित्व हस्तान्तरण, सेयर बिक्री शुल्क, संचालक समिति नियुक्ति नीति, ब्रोकरको कार्य क्षेत्राधिकार लगायतका विषयलाई समेट्न सुझाव दिइएको थियो।
सेबोनको उक्त कमिटीले ब्रोकर एसोशिएसनले सुझाएअनुसारको संशोधनमा ८ बुँदे प्रस्ताव तयार गरी सोहीअनुसार संशोधित नियमावलीको मस्यौदा तयार गर्ने वा बुँदाहरु थप÷घट गर्ने भन्ने बिषयमा अध्ययन गरिरहेको उनले जानकारी दिए।
त्यसपछि सेबोनले नियमावली संशोधन गर्ने गरी चार सदस्यीय कमिटी गठन गरेको थियो। उक्त कमिटीले संघबाट प्राप्त सुझावको आधारमा थप अध्ययन गरेर नियमावनी संशोधनको प्रस्ताव तयार गरेको सेबोनका एक अधिकारीले बताए।
‘कमिटीले अध्ययन गरेर संशोधनको प्रस्ताव तयार गरी थप अध्ययन गर्दै छ,’ सेबोन स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘अहिलेको प्रमुख प्राथमिकता भनेको ब्रोकरको पुँजी वृद्धिका लागि समय कतिसम्म थप गर्ने भन्ने हो, तर नियामवाली कार्यान्वयनमा आएका अन्य जटिलतालाई पनि छैटौँ संशोधनमा समावेश गर्ने तयारी गरिएको छ।’
सेबोनको उक्त कमिटीले ब्रोकर एसोशिएसनले सुझाएअनुसारको संशोधनमा ८ बुँदे प्रस्ताव तयार गरी सोहीअनुसार संशोधित नियमावलीको मस्यौदा तयार गर्ने वा बुँदाहरु थप÷घट गर्ने भन्ने बिषयमा अध्ययन गरिरहेको उनले जानकारी दिए।
‘जेठ १५ गतेसम्म संशोधित नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरेर थप अध्ययन कमिटीमा हुन्छ, जेठ अन्तिमसम्म सञ्चालक समितिमा मस्यौदा कमिटीले पठाउँछ,’ स्रोतले भन्यो, ‘बोर्डले समयमा पारित गरेर अर्थ मन्त्रालय पठाएमा असारको दोस्रो सातासम्म नियमावली संशोधन भएर आउन सक्छ।’
केही नेपाल ऐन संशोधन विधेयकले मन्त्रालयलअन्तर्गतका निकायको सम्बन्धित नियमावली सोही मन्त्रालयले पारित गर्न सक्ने अधिकार दिएको छ। सोही कारण सेबोनको उक्त नियमावली अर्थ मन्त्रालयले पारित गर्न सक्ने हुँदा संशोधन प्रक्रिया धेरै लामो नहुने उनको बुझाइ छ।
धितोपत्र व्यवसायी नियमावली, २०६४ को प्रस्तावित संशोधन
१. नियम ७ को १. यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि प्रचलित कानुन बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमति पत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्ने छ। तर, त्यस्तो कम्पनीले आफ्नो मुख्य कम्पनी वा मुख्य कम्पनीका अन्य सहायक कम्पनीको धितोपत्र स्वामित्व ग्रहण गर्न पाउने छैन।
–यस प्रावधानले ‘क’ वर्गका बैंकको सहायक कम्पनीले गर्ने धितोपत्र कारोबारमा दुविधा उत्पन्न भएको।
२. नियम १० को (१) धितोपत्र दलाल र धितोपत्र व्यापारीले अनुसूची-९ बमोजिमको न्यूनतम चुक्ता पूँजी राख्नुपर्ने छ। तर, यो नियम प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले सम्वत २०८४ साल असार मसान्तभित्र अनुसूचि ९ बमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्याउन बाधा पर्ने छैन। (हाल २०८२ असार मसान्त छ)
–उक्त नियम प्रारम्भ हुँदाका बखतमा चालु धितोपत्र दलालको पुँजी न्यूनतम पुँजी दुई करोडको व्यवस्था रहेकोमा दश गुणाले वृद्धि गर्नैपर्ने व्यवस्था गरिएको र समयसीमा कम दिइएकाले रहेकाले र २०८२ असारभित्र पुँजी वृद्धि असम्भव प्रायः रहेको हुँदा।
हाल धितोपत्र दलालको सेयरधनीले आफूले ग्रहण गरेको सेयर बिक्री वा हस्तान्तरण गर्ने भएमा बोर्डमा सोसम्बन्धी अभिलेख गराएर मात्र गर्न सक्ने छ व्यवस्था छ।
३. नियम १२ (३) धतोपत्र दलाल कम्पनीको कूल पुँजीको १० प्रतिशतभन्दा कम सेयर धारण गर्ने सेयरधनीले सेयर बिक्री वा हस्तान्तरण गर्ने भएमा धितोपत्र दलाल कम्पनीले अनुसूची ३ तथा अनुसूची १६ बमोजिमको कागजात र नियम १३ बमोजिमको स्वघोषणासहित कम्पनी रजिष्ट्रारको कार्यालयमा बिक्री वा हस्तान्तरण अभिलेख भएको मितिबाट १५ दिनभित्र बोर्डमा जानकारी गराउनुपर्ने। तर, १० प्रतिशतभन्दा माथि सेयर धारण गरेको सेयर धनीले बिक्री वा हस्तान्तरण गर्दा बोर्डमा सोसम्बन्धी अभिलेख गराएर मात्रै बिक्री गर्न सक्ने छ।
(हाल धितोपत्र दलालको सेयरधनीले आफूले ग्रहण गरेको सेयर बिक्री वा हस्तान्तरण गर्ने भएमा बोर्डमा सोसम्बन्धी अभिलेख गराएर मात्र गर्न सक्ने छ व्यवस्था छ।)
–बोर्डमा सेयर अभिलेखको प्रक्रिया सम्पन्न गरी कारोबार सम्पन्न गर्न सामान्यतः लामो समय लाग्ने तथा १० प्रतिशतभन्दा कम लगानी रहने सेयरधनीको धितोपत्र दलाल कम्पनीको सेयर बिक्री वा हस्तान्तरणबाट कम्पनीलाई ठूलो प्रभाव नपर्ने भएका कारण खरिद बिक्री प्रक्रियालाई सहज रुपमा सम्पन्न गर्नका लागि आवश्यक रहेको हुँदा।
४. नियम १२ (४ क) उपनियम (४) बमोजिमको निवेदन साथ बिक्री वा हस्तान्तरण हुने सेयरको बिक्री मूल्यको दस्तुरवापत शून्य दशमलव शून्य एक (०.२५) प्रतिशतका दरले हुने रकम संलग्न गर्नुपर्ने छ। (हाल ०.०१ प्रतिशत रहेको छ)
–सेयरधनीले सेयर बिक्रीवापत पहिले विभिन्न शुल्क, कर र ओटिसि कमिसन भुक्तानी गर्नुपर्ने दायित्व रहने भएको हुँदा साथै अन्य नियामक निकायले संस्थापक सेयर बिक्रीको जानकारी वा अभिलेखवापत गरिदिए शूल्क लिने प्रचलन नरहेको हुँदा मिलेसम्म शुल्क हटाउने वा नभए पनि न्यूनतम शूल्क मात्रै लिने व्यवस्था गरी कारोबार लागत घटाउनुपर्ने देखिएको हुँदा।
५. नियम १८ को ‘ख’ सूचिकृत संगठित संस्थामा संचालक वा लेखा परीक्षक रहेको (हाल कर्मचारी पनि रहने व्यवस्था छ।)
– ‘क’ वर्गका बैंकको लगानी रहेको धितोपत्र दलाल÷व्यापारी संस्थामा बैंकसँग सम्बन्धित कर्मचारीलाई नियुक्त गर्न नपाइएकाले।
६. नियम २७ को (१) धितोपत्र दलालले बोर्डबाट अनुमति लिई देहाय बमोजिमको कार्य गर्न सक्ने छन्। (क) सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाअन्तर्गतः (१) ग्राहकको आदेशअनुसार धितोपत्र खरिद बिक्री गर्ने सेवा (२) केन्द्रिय निक्षेप सेवा (३) राफसाफ सदस्यता सेवा (४) प्रोप्राइटरी कारोबार (५) मार्जिन कारोबारसम्बन्धी कार्य (६) लगानी व्यवस्थापन सेवा (ख) पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाअन्तर्गतः
(१) सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाअन्तर्गतका सबै कार्यहरूसहित, (२) लगानी परामर्श सेवा (३) बोर्डले तोके बमोजिम योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने (४) धितोपत्र दलाल व्यवसाय सञ्चालन गरेको १ आर्थिक वर्ष पूरा भएपश्चात धितोपत्र दलाल कम्पनीको प्राथमिक सेयर निष्काशनका लागि अनुमति प्रदान गरिने (ग) धितोपत्र व्यापारी सेवाअन्तर्गतः
(१) पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाअन्तर्गतका कार्यहरूसहित, (२) म्युचुअल फण्ड म्यानेजर सम्बन्धी कार्य गर्ने (३) धितोपत्र निष्काशनमा प्रत्याभूतिकर्ताको कार्य गर्ने (४) धितोपत्र बजारको अनुमति लिई तोकिएको कम्पनीमा दुई तर्फि खरिद बिक्री गर्न आदेश दिन पाउने गरी बजार निर्माताको कार्य गर्ने।
–हालको व्यवस्थामा तोकिएको पुँजीअनुसार कार्य क्षेत्र थोरै भएको तथा धितोपत्रको खरिद बिक्रीबाट प्राप्त कमिसन आम्दानीबाट मात्रै व्यवसाय सञ्चालन कठिन देखिएको हुँदा थप कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता देखिएको हुँदा यो संशोधन प्रस्ताव पेश गरिएको।
७. नियम २७ (६) : धितोपत्र दलालले आफ्नो सेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरूको एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन सक्ने छ।
८. नियम २७ (७) : नियम २७ (६) बमोजिम धितोपत्र दलालले आफ्नो सेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरूको एकाघर परिवारको सदस्यका नामबाट खरिद वा बिक्री गरिएको धितोपत्रको विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको सात कार्य दिनभित्र बोर्डलाई जानकारी दिनुपर्ने छ। (नियम २७ (७): व्यवस्था नभएको ।)