काठमाडौं। गत चैत्र १५ गते राजावादीको आन्दोलनको भिड भड्काएर फरार भएका दुर्गा प्रसाई अहिले प्रहरी हिरासतमा छन्। उनीमाथि राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसैबीच उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ कसुरमा पनि अनुसन्धान गरी फाइल तयार पारेको छ। नेपाल राष्ट्र बैंकले सिआईबीमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो।
‘विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्बभन्दा बढी कर्जा लिएको देखियो, यसबीच साढे २७ करोड अपचलन भएको अनुसन्धान देखिएको छ,’ सिआईबीका प्रवक्ता युवराज खड्काले क्यापिटल नेपालसँग भने, ‘अनुसन्धानको रिपोर्ट उच्च सरकारी वकिलको कार्यालमा बुझाएका छौँ, त्यहीअनुसार मुद्दा चलाउने तयारी हुँदै छ।’
प्रसाईंले विभिन्न समयमा आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका थिए। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार उनले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेण्ट मेगा बैंकबाट ६५ करोड कर्जा लिएका थिए।
यस्तै, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आईएमईबाट १ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका थिए।
यी सबै बैंक तथा वित्त कम्पनीबाट लिएको ऋणको साँवा–ब्याज चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रसाईले बैंकलाई करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने राष्ट्र बैंक स्रोतले जनाएको छ।
प्रसाईले यो ऋण बिएण्डसी अस्पतालसहित विभिन्न व्यवसायी गर्नका लागि लिएका थिए। तर, उनले आफ्नो ऋण लगानी अन्त गरेको सिआईबीको ठहर छ।