काठमाडौं। इजरायल र अमेरिकाले आक्रमण गरेपछि प्रतिकारमा उत्रिएको इरानले छिमेकी देशमा समेत मिसाइल र ड्रोनले लाखौं ब्यारेलका इन्धन उत्पादन भण्डारलाई टार्गेट गरेपछि इतिहासकै सबभन्दा ठूलो इन्धन संकट विश्वले बेहोरेको रिपोर्ट सार्वजनिक भएका छन्। अमेरिका–इरान युद्ध करिब दुई महिना नजिक पुग्नै लाग्दा विश्व अर्थतन्त्रले ५० अर्ब अमेरिकी डलर बराबरको कच्चा तेल उत्पादन गुमाएको तथ्यांक केपलरलगायत संस्थाले सार्वजनिक गरेका हुन्।

केपलरको तथ्यांकअनुसार फेब्रुअरी अन्त्यमा संकट सुरु भएदेखि हालसम्म विश्व बजारबाट ५० करोड ब्यारेलभन्दा बढी कच्चा तेल र कन्डन्सेट गुमेको छ, जुन आधुनिक इतिहासकै सबैभन्दा ठूलो ऊर्जा आपूर्ति अवरोध हो।
रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै विश्वव्यापी जमिनमुनिको तेल भण्डारण ४ करोड ५० लाख ब्यारेल घटेको छ। कुवेत र इराकका केही तेल खानीलाई सामान्य अवस्थामा ल्याउन अझै चारदेखि पाँच महिना लाग्न सक्छ।
५० करोड ब्यारेल तेलको परिमाण कति विशाल छ भन्ने कुरा विभिन्न तुलनाबाट प्रस्ट हुने रिपोर्टमा उल्लेख छ। उड म्याकेन्जीका वरिष्ठ विश्लेषक इयान मोवाटका अनुसार यो परिमाण १० हप्तासम्मको विश्वव्यापी हवाई इन्धनको माग वा ११ दिनसम्म विश्वभरका सवारीसाधन ठप्प पार्दा हुने खपत बराबर हो।
युद्धले गुमेको यो परिमाणले अमेरिकाको झन्डै एक महिना वा सिंगो युरोपको एक महिनाभन्दा बढीको तेलको माग धान्न सक्छ।
युद्धका कारण खाडी मुलुकले मात्रै मार्च महिनामा दैनिक ८० लाख ब्यारेल कच्चा तेल उत्पादन गुमाएका छन्। यो उत्पादन विश्वका दुई ठूला तेल कम्पनी एक्सन मोबिल र सेभ्रोनको संयुक्त उत्पादन बराबर हो।
केपलरको तथ्यांकले साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्सलगायतका देशबाट हुने हवाई इन्धन निर्यातमा पनि ठूलो गिरावट देखाएको छ। फेब्रुअरीमा १ करोड ९६ लाख ब्यारेल रहेको निर्यात मार्च र अप्रिल महिनामा खुम्चिएर जम्मा ४१ लाख ब्यारेलमा झरेको छ।
केपलरका वरिष्ठ विश्लेषक जोहानेस राउबलका अनुसार द्वन्द्व सुरु भएदेखि तेलको औसत मूल्य प्रतिब्यारेल १००–११६ डलर आसपास रहेकाले गुमेको यो परिमाणको मूल्य करिब ५० अर्ब डलर हुन्छ। यो क्षति जर्मनीजस्तो शक्तिशाली देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १ प्रतिशत वा लाटभिया र एस्टोनियाजस्ता देशको सम्पूर्ण जीडीपी बराबर हो।
हाललाई विश्व इन्धनको मुख्य जलमार्ग होर्मुज खुला भए पनि तेल उत्पादन र प्रवाह पुरानै लयमा फर्कन निकै समय लाग्ने रिपोर्टमा उल्लेख छ। रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै विश्वव्यापी जमिनमुनिको तेल भण्डारण ४ करोड ५० लाख ब्यारेल घटेको छ। कुवेत र इराकका केही तेल खानीलाई सामान्य अवस्थामा ल्याउन अझै चारदेखि पाँच महिना लाग्न सक्छ।

कतारको रास लफान एलएनजी कम्प्लेक्स र अन्य प्रशोधन केन्द्रहरूमा पुगेको क्षतिका कारण क्षेत्रीय ऊर्जा पूर्वाधारको पूर्ण पुनःस्थापना हुन भने वर्षौं लाग्ने बताइएको छ। रोयटर्सको गणनाअनुसार यो संकटको पराकम्प आगामी महिनामा मात्र नभई वर्षौंसम्म महसुस हुने देखिएको छ।
हाललाई विश्व इन्धनको मुख्य जलमार्ग होर्मुज खुला भए पनि तेल उत्पादन र प्रवाह पुरानै लयमा फर्कन निकै समय लाग्ने रिपोर्टमा उल्लेख छ।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले लेबनानमा भएको युद्धविराम सम्झौतापछि होर्मुज खुला भएको घोषणा गरे पनि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको सम्झौता चाँडै हुने विश्वास व्यक्त गरे पनि क्षतिको खाडल निकै गहिरो हुने विश्लेषण गरिएको छ।
युद्धमा प्रत्यक्ष संलग्न नरहेका देशसमेत इन्धन अवरोधका कारण पीडित बनेको विवरणमा उल्लेख छ। युद्धले अमेरिकाले खाडी मुलुकमा राखेका सैन्य क्याम्प, इजरायल र इरानमा अर्बौं डलर लागतका पूर्वाधार नष्ट वा क्षतिग्रस्त भएका छन्। युद्धमै संलग्न नभएका खाडी मुलुक कतार, दुबई, साउदी, कुवेत, बहराइनलगायत देशमा रहेका इन्धन उत्पादन प्लान्टले इरानी आक्रमणका कारण अर्बौं डलरको क्षति बेहोरेका छन्।
युद्धकै कारण खाडीमा कार्यरत विदेशी कामदारसमेत प्रत्यक्ष प्रभावित बनेको रिपोर्टमा उल्लेख छ। युद्धका कारण भौतिक मात्र नभई मानवीय क्षतिसमेत हुन पुगेको छ। अमेरिका सेना, इजरायल र इरानका हजारौं नागरिकका मृत्यु भएको छ।–एजेन्सी