काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विवादस्पद व्यवसायी दुर्गा प्रसाईंमाथि विभिन्न १२ वटा कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।
नेपाल राष्ट्र बैंकले सीआईबीमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरेपछि प्रसाईंमाथि दर्जन अभियोगमा अनुसन्धान थालिएको हो।
चैत १५ को राजावादी आन्दोलनका मुख्य कमान्डर प्रसाईं हाल प्रहरी हिरासतमा छन्। अघिल्लो वर्षदेखि ‘बैंकको ऋण मिनाहा’ आन्दोलन चलाइरहेका प्रसाईं पछिल्लो समय राजसंस्था पुनःस्थापना जागरण अभियानका नाममा तीनकुने हिंसात्मक घटनामा संलग्नताको पुष्टि पछि गत साता प्रहरीले पक्राउ गरिसकेको छ।
प्रसाईंले विभिन्न समय आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा अपचलन गरेको अभियोग राष्ट्र बैंकले लगाएको हो। सोहीअनुसार अनुसन्धान भइरहेको सीआइवी प्रवक्ता सुधीरराज शाहीले बताए।
‘राष्ट्र बैंकले बैंकिङ कसुर र शुद्धीकरणसम्बन्धी कसुरमा सीआइबीमा मुद्दा दर्ता गराएको हो। सोहीअनुसार अनुसन्धान भइरहेको छ। अनुसन्धान सकिपछि उच्च अदालत पठाउँछौं,’ सीआईबी प्रवक्ता शाहीले क्यापिटल नेपालसँग भने, ‘प्रसाईंले आफ्नो र श्रीमतीको नाममा रहेका २४/२५ वटा कम्पनीको नाममा कर्जा लिएर त्यसको दुरुपयोग गरेको देखिन्छ। कसुर पुष्टि भएर आएपछि अदालत पठाउँछौं।’
सीआईबीले अर्बाैं रुपैयाँ ऋण दुरुपयोगको अभियोगमा उनीमाथि अनुसन्धान सुरु गरेको हो। सीआईबीका अनुसार प्रसाईंले बैंकबाट लिएको कर्जा व्यवसायमा नलगाई व्यक्तिगत तथा अनधिकृत खर्चमा प्रयोग गरेका छन्।
कतिपय अवस्थामा एक बैंकको कर्जा तिर्न अर्कोे बैंकबाट लिएको कर्जा प्रयोग गरिएको छ। बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिले ४ वर्षदेखि कर्जाको साँवा–ब्याज भुक्तानी नगरेको पाइएको छ।
कर्जा उपयोगका क्रममा परियोजनाको लागत कृत्रिम रुपमा बढाई अनावश्यक रुपमा बढी कर्जा लिइएको तथा ती फर्मका अन्तिम लाभग्राही प्रसाईं नै रहेको खुलेको छ। साथै, राउन्ड ट्रिपिङ, रिलेटेड पार्टी ट्रान्जेक्सनजस्ता शंकास्पद कारोबारसमेत गरिएको पाइएको छ।
कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र गुडविल फाइनान्सबाट लिएको करिब २७ करोड ५० लाख रुपैयाँ कर्जामा समेत दुरुपयोग भेटिएको छ। प्रसाईंले बैंकिङ कसुर ऐन, २०६४ को उल्लंघन गरेको सीआईबीले जनाएको छ।
यस्ता छन् प्रसाईंका कसुर
– बैंक वा वित्तीय संस्थाबाट लिएको कर्जा निश्चित उद्देश्यका लागि लिएको भए पनि त्यसलाई अन्यत्र प्रयोग गरिएको।
– एक बैंकको ऋण चुक्ता गर्नका लागि अरू बैंकबाट लिएको कर्जा प्रयोग गरिएको।
– बैंकबाट कर्जा लिँदा उल्लेख गरिएको प्रयोजनभन्दा फरक उद्देश्यमा कर्जाको रकम प्रयोग गरी दुरुपयोग गरिएको।
– कर्जा व्यवसायिक प्रयोजनका लागि लिइएको भए पनि त्यसलाई पेश्कीको रूपमा प्रसाईं वा उनको कम्पनीलाई दिइएको।
– बीएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले विगत चार वर्षदेखि साँवा–ब्याज नियमित नतिरेको।
– परियोजनाको लागत कृत्रिम रूपमा बढाएर आवश्यकताभन्दा बढी कर्जा लिइएको।
– ऋण लिने कम्पनीहरूको अन्तिम लाभग्राही दुर्गा प्रसाईं नै रहेको, जसले स्वार्थको टकराव देखाउँछ।
– बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार, कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्था उल्लंघन।
– पैसा एक ठाउँबाट अर्को कम्पनीमा घुमाई फिर्ता लगानी गरी नक्कली कारोबार देखाउने कार्य गरिएको।
सम्बन्धित पक्षसँग शंकास्पद कारोबार (रिलेटेट पार्टी ट्रान्जेक्सन)
– आफन्त वा स्वामित्वमा रहेका अन्य कम्पनीसँग पारदर्शिता नभएको शंकास्पद कारोबार गरिएको।
सम्पत्तिको स्रोत लुकाउने प्रयास
– विभिन्न जटिल वित्तीय लेनदेन (राउण्ड ट्रिपिङ ल्यारिङ) मार्फत सम्पत्तिको वास्तविक श्रोत लुकाइएको।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन उल्लंघन
– सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अवैध आम्दानीलाई वैध देखाउने प्रयत्न, जुन सजायको दायरामा पर्छ।