लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन् ।
एनआरएनए युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तलाई अल्डरशटस्थित एम्पायर हलमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्ब रुपैयाँको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए ।
पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको बताए । उनले भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
पन्तले विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकता बन्ने निश्चित भएको बताए । अहिले गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको बिषय संसदीय समितिमा छ त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छ, पन्तले भने ।
संघका महासचिव डा. हेमराज शर्माले विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारे । उनले गैरआवासीय नेपाली संघ अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिए ।
उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको जनाए । कार्यक्रमलाई स्वागत मन्तव्य दिदैं गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारिन् ।
उनले एनआरएनलाई राम्रो एनआरएन बनाउने प्रयत्न गर्ने बताइन् । गुरुङले समुदायका सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित संस्था भएको बताए । उनले भातृभूमिका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर स्थापना भएको जनाए ।