काठमाडौं । गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर पटक पटक सरकारी कारबाहीमा परेको होङ्सी सिमेन्टले उपभोक्तालाई लामो समयदेखि झुक्याएर सिमेन्ट बेचेको खुलेको छ ।
होङ्सीले विगत लामो समयदेखि ४३ र ५३ ग्रेडको सिमेन्ट लेखेर उपभोक्तालाई झुक्याएको खुलेको छ । जबकि, ग्रेडिङ दिने व्यवस्था सरकारले भरखरै मात्रै मन्त्रीपरिषद्बाट स्वीकृत गरेको छ । ग्रेडिङ पाउनका लागि उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागमा निवेदन हाल्नुपर्छ ।
विभाग अनुसार होङ्सीले निवेदन हाले पनि अहिलेसम्म ग्रेडिङ गर्न अनुमति दिएको छैन् । विभागको स्वीकृति बिना कुनै पनि उद्योगले सिमेन्ट बोरामा ग्रेड उल्लेख गर्न नपाउने विभागले जनाएको छ । तर, होङ्कले सरकारी कानुनलाई लत्याउँदै सिमेन्टमा ग्रेडिङ लेखेर उपभोक्तालाई झुक्याउँदै आएको छ ।
तर, होङ्सीले विगत लामो समयदेखि ४३ ग्रेडको सिमेन्ट भनेर बिल समेत काटेको क्यापिटल नेपालले फेला परेको छ । होङ्सीले २०७६ फागुन १५ गते काटेको बिलमा ४३ ग्रेडको सिमेन्ट भन्ने उल्लेख छ ।
सरकारको कानुन अनुसार अहिलेसम्म कुनै पनि उद्योगले आफ्नो सिमेन्ट यति ग्रेड वा उति ग्रेड भनेर लेख्न पाउँदैनन् । तर, होङ्सीले खुलेआम ४३ ग्रेड भनेर ग्राहकलाई झुक्याइरहेको छ ।
नेपालमा उत्पादित सबै सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट ४३ र ५३ ग्रेडभन्दा माथि छन् । तर, लेख्ने अधिकार सरकारले उपलब्ध गराउनुपर्छ, आफूलाई मनलाग्दैमा लेख्न नपाइने उद्योगीहरु स्वीकार गर्छन् । तर, होङ्सीले आफूखुसी ग्रेड लेखेर राज्य र उपभोक्ता दुवैलाई झुक्याएको पाइएको हो ।
केही समय अघि मात्रै सेटिङ टाइम विगारेको फेला परेपछि सरकारले होङ्सीलाई कारबाही गरेको थियो । कानुन अनुसार सेटिङ टाइम ४५ मिनेट हुनुपर्नेमा होङ्सीको ३० मिनेट पाइएको थियो । जिम्समको मात्रा बढि हाल्ने वित्तिकै सेटिङ टाइम विग्रिन्छ । होङ्सीले त्यही गरेको विभागले निश्कर्ष निकाल्दै कारबाही गरेको थियो ।
अहिले विभागलाई नै झुक्याएर सिमेन्टमा ४३ र ५३ ग्रेड लेखेर धमाधम सिमेन्ट विक्री गरिरहेको छ । विभागका अनुसार अहिलेसम्म कुनै पनि उद्योगलाई ग्रेड लेख्ने अधिकार दिइएको छैन ।
‘इनिसियल सेटिङ’ विगार्ने होङ्सीले सरकारी ल्याबलाई विश्वास गरेन, उसकै उपस्थितिमा पुनः गुणस्तर परीक्षण गरिँदै
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्रेड लेख्ने सम्बन्धी स्टयान्र्डर्ड भरखरै मन्त्रीपरिषदबाट पास भएको र अब राजपत्रमा निकाले पछि मात्रै उद्योगलाई ग्रेड लेख्न दिइने बताउँछन् ।
‘यसरी होङ्सीले कानुन विपरीत गएर लेखेको पाइए तत्काल कारबाही हुन्छ,’ उनले भने, ‘आफूखुसी ग्रेड लेख्न पाइँदैन् । यो उपभोक्तालाई झुक्याउने खेल हो । हामी होङ्सीलाई कारबाही गर्छौ ।’
होङ्सी सिमेन्टलाई चिनियाँ राजदूतको संरक्षण, होङ्सी नै प्रयोग गर्न चिनियाँ ठेकेदारलाई निर्देशन
सरकारले राजपत्रमै सूचना निकालेको छैन् । सूचना ननिस्केसम्म उद्योगीले दिएको आवेदन अध्ययन पनि नगरिने पुडासैनी बताउँछन् । तर, चिनियाँ लगानीको होङ्सीले मनलाग्दी रुपमा ग्रेडिङ लेखेर लामो समयदेखि उपभोक्ताई भुक्याउँदै आएको पाइएको छ ।