काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल नियुक्ति बदरको माग गर्दै सर्वाेच्च अदालतमा दायर रिटमाथिको सुनुवाइका लागि आज पेसी तोकिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको हाे।
अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा, प्रतिभा उप्रेतीलगायतले गत शुक्रबार सर्वाेच्च प्रशासनमा पेस गरेको रिट दरपिठ भए पनि मंगलबार मुद्दा दर्तासँगै आजका लागि पेसी तोकिएको हो।
प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई अघि सारिएकाले कानुनी व्यवस्था विपरीत सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैं त्यसमा छनोट हुने परिपाटीले सुशासनको धज्जी उडाएकाले नियुक्ति बदरभागी हुनुपर्ने रिटमा उल्लेख छ।
रिटमा मुद्दाको टुंगो नलादासम्म गभर्नरले नोटमा हस्ताक्षर गर्नेलगायत राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्न दिन नहुने अन्तरिम आदेश माग गरिएको छ।
निवेदनमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्रसम्बन्धी आवश्यक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ।
उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रको औपचारिक योग्यता नभएको उल्लेख छ।
सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधन गरेपछि अधिवक्तात्रयले उक्त संशोधन खारेजी माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत वैशाख २ मा गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद संशोधन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।