काठमाडौं। नेपालको हिमाली भेगको पहिचान, जीवनशैली र अर्थतन्त्रको मेरुदण्ड रहेका याक, नाक र चौँरीको संख्यामा चिन्ताजनक रुपमा गिरावट आएको पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्ला केही वर्षयता यी महत्वपूर्ण पशुधनको संख्यामा उल्लेख्य कमी आएको हो। जसले हिमाली क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनमा गम्भीर प्रभाव पार्न सक्ने संकेत दिएको छ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा याक र चौँरीको कुल संख्या ६५ हजार रहेकोमा गत आर्थिक वर्ष २०७९/८० सम्ममा यो संख्या ५३ हजारमा झरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ६५ हजार ४०६ वटा याक थिए भने दुई हजार ८४५ वटा चौँरी घटेर आर्थिक वर्ष २०७८/७९ मा ६२ हजार ५ सय ६१ वटा भएका छन्।
यो प्रवृत्तिले हिमाली भेगमा परम्परागत पशुपालनमा आधारित जीविकोपार्जनमा ठूलो चुनौती खडा गरेको छ। याक, नाक र चौँरीको संख्या घट्नुमा भौगोलिक स्थिति र भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरण क्षेत्रको अभाव र जंगली जनावरको आक्रमण रहेको कृषि मन्त्रालयले उल्लेख गरेको छ। हिमाली क्षेत्रको विकट भूगोल र प्रतिकूल मौसमले याक पालनलाई थप चुनौतीपूर्ण बनाएको छ।
त्यस्तै, आधुनिक जीवनशैलीको खोजीमा युवा पुस्ता हिमाली भेग छाडेर सहरतिर पलायन हुनाले परम्परागत पशुपालन व्यवसायमा जनशक्तिको अभाव खडा भएको छ। चरण क्षेत्रको अभाव र वातावरणीय परिवर्तनले पनि याकको आहारमा असर पारेको छ। साथै, हिमाली भेगमा जंगली जनावरको आक्रमण पनि याकको संख्या घट्नुको एक प्रमुख कारण बनेको कृषिमन्त्री रामनाथ अधिकारीले बताए। याकको घट्दो संख्याप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा जोड दिनका उनले आग्रह गरे।
याकको दही प्रसिद्ध दूग्ध परिकारका रूपमा लोकप्रिय छ। याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको छ।
मन्त्री अधिकारीले याक, चौँरी र नाक पालनमा संगठनात्मक रूपमा पहल गर्नुपर्ने आवश्यकता औँल्याए। उनले गोठ संरक्षण, आहार व्यवस्थापन र उत्पादित वस्तुको प्रवर्द्धनका लागि तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए। ‘हिमालमा उत्पादन हुने भएकाले याकका खाद्यवस्तु स्वाभाविक रूपमा अर्गानिक नै हुन्छन्,’ उनले भने, ‘याकको जैविक, सामाजिक र सांस्कृतिक महत्व अतुलनीय छ।’
नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा ३ फ्याट्टी एसिडको महत्वपूर्ण स्रोत मानिन्छ। याकको दही प्रसिद्ध दूग्ध परिकारका रूपमा लोकप्रिय छ। याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको छ।
कृषि मन्त्रालयका पूर्वसहसचिव डा. सूर्यप्रसाद पौडेलले याक, नाक र चौँरी पालनमा देखिएका चुनौती र पर्यटनसँगको यसको सम्बन्धबारे प्रकाश पारेका छन्। उनका अनुसार हिमाली क्षेत्रमा पर्यटनको विकास तीव्र गतिमा भइरहेको छ। जसका लागि मनाङ, मुस्ताङलगायतका स्थानमा भौतिक संरचनाहरू पनि निर्माण भएका छन्। याक, नाक र चौँरीको संख्या घट्दै जानुमा पालन गर्ने अधिकांश वृद्धवृद्धा उमेरका हुनु र नयाँ पुस्ता यसमा आकर्षित नहुनु रहेको उनको भनाइ छ।
कोरोना महामारीको समयमा पर्यटन क्षेत्र ठप्प हुँदा धेरै स्थानीय बासिन्दाले गाउँ छाड्न बाध्य भएको पनि संख्या घटेको बताए। याक, नाक र चौँरीले हिमाली क्षेत्रको भू-व्यवस्थापनमा योगदान पुर्याएको पौडेलको तर्क छ। ‘याक, नाक र चौँरीले ल्याण्डस्केप म्यानेजरको रूपमा काम गर्छ, जसले जमिनको व्यवस्थापन र मलजल प्रदान गरी उर्वराशक्ति कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।
याक, नाक र चौँरीको संरक्षणका लागि सरकारले यो वर्षदेखि वैशाख ७ गते नेपालमा पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ।
याक, नाक र चौँरीको अर्थतन्त्रमा सीधै योगदान नभए पनि अप्रत्यक्ष रुपमा योगदान रहेको छ। याकको संख्यामा आएको गिरावटलाई सम्बोधन गर्न र हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली र परम्परागत जीवनशैलीको संरक्षणका लागि तत्कालै ठोस कदम चाल्नु अपरिहार्य देखिएको छ। सरकार, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सहकार्यमा मात्र यो संकटलाई टार्न सकिन्छ।
याक, नाक र चौँरीको संरक्षणका लागि सरकारले यो वर्षदेखि वैशाख ७ गते नेपालमा पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ। ‘याक चौँरी प्रवर्द्धन, हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने नाराका साथ मनाइएको यो दिवसले याकको महत्व र संरक्षणको आवश्यकतालाई प्रकाश पारेको छ। गत असोज ३ गतेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको थियो।