काठमाडौं । सरकारले कोरोना भाइरसप्रति सचेत रहनका लागि भन्दै ठूला सभा, समारोह र कार्यक्रमको आयोजना नगर्न आग्रह गरिरहेकै बेला नेपाल उद्योग बाणिज्य महासंघले आइतबार आफ्नो साधारणसभा तथा निर्वाचनको सार्वजनिक सुचना जारी गरेको छ ।
सरकारले होलीसमेत भीडभाडमा नमनाउन आग्रह गर्दै आवश्यक बाहेक घरबाट बाहिर ननिस्कनसमेत निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसलाई नेपालमा फैलिन नदिन भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिरहेकै समयमा सरकारको निर्देशन विपरित महासंघले आफ्नो सुचना जारी गरेको हो ।
कोरोना भाइरसको महामारी कति समय लामो हुने र सरकारले सार्वजनिक कार्यक्रम कहिलेसम्म नगर्ने भन्ने दिएको निर्देशनको औपचारिक मिति तय नभएको बेला महासंघले अबको एक महिनापछि हुने निर्वाचनसहितको साधारणसभाको प्रक्रिया थालेको हो ।
महासंघले आइतवार सार्वजनिक गरेको सुचनाअनुसार महासंघको ५४ औं साधारणसभा चैत २८ गते बिहान ९ बजेदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुने जनाएको छ । निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी सदस्यको निर्वाचनका लागि चैत २० गते साँझ ६ बजेसम्म मनोनयन दर्ता गर्नका लागि पनि महासंघले सुचना जारी गरेको हो ।
महासंघको साधारणसभा तथा निर्वाचनमा ७७ जिल्लाबाट नै हजारौं प्रतिनिधिको जमघट हुने गर्छ ।
महासंघको प्रदेश समितिले कोरोना भाइरसको कारण प्रदेशको निर्वाचन गर्न नसक्ने पत्र महासंघलाई पठाएका छन् । ३ नम्बर प्रदेशबाहेक अरु सबै प्रदेशले प्रदेश सरकारले निर्वाचनका लागि अनुमति नदिएको ब्योहोराको पत्र महासंघलाई पठाएका हुन् ।
महासंघकी अध्यक्ष भवानी राणाले महासंघको पहिलाकै योजना अनुसार सुचना जारी भएको बताइन् । ‘सरकारले कोरोना भाइरसका कारण कार्यक्रमहरु त नगर्ने भनेको छ तर हामीले पनि नयाँ निर्णय लिनका लागि समय लाग्छ,’ उनले बताइन् ।
‘पहिलाकै योजनाअनुसार साधारण सभा र निर्वाचनको तयारी थालिएको हो । निर्वाचन रोक्न वा सार्नका लागि बैठक गरेर निर्णय गर्नुपर्ने उनले बताइन् । ‘प्रदेश समितिहरुले निर्वाचन गर्न नसक्ने व्योहोराको पत्र महासंघलाई पठाइरहेका छन्, तर केन्द्रिय निर्वाचन र साधारणसभाको हामीले तयारी थालेका छौं ।’