काठमाडौं । सिमेन्टमा मनलाग्दी ग्रेड राखेर उपभोक्तालाई झुक्याउँदै आएको समाचार बाहिरिएपछि सरकारले होङ्सीमाथि अनुसन्धान गर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङ्सी सिमेन्टमाथि छानविन सुरु गर्न लागेको हो ।
कानुन विपरीत होङ्सीले सिमेन्टमा ग्रेड राखेर बिक्री गरेको पाइएपछि त्यसमाथि आवश्यक छानविन हुने र दोषी पाइए कारबाही गर्ने विभागले जनाएको छ ।
सरकारले सिमेन्ट उद्योगलाई ग्रेड लेख्ने अनुमति नै नदिएको बेलामा होङ्सीले ग्रेड उल्लेख गरेर सिमेन्ट बेचिरहेको फेला परेको हो । सरकारले भरखरै त्यससम्बन्धी कानुन मन्त्रीपरिषदबाट स्वीकृत गरेको छ । अब राजपत्रमा सूचना निकाले पछि मात्रै उद्योगीले गे्रडिङका लागि आवेदन पाउने छन् ।
तर, होङ्सीले आफूखुसी ग्रेडिङ लेखेर धमाधम बजारमा सिमेन्ट बिक्री गरिरहको फेला परेको हो । होङ्सीले ४३ ग्रेड लेखेर बजारमा सिमेन्ट बेचिरहेको छ । ‘होङ्सीले भन्दैमा ४३ ग्रेडको सिमेन्टमा चाहिने कम्पोनेन्टको बारेमा कसले परीक्षण गरेको छ ?’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘आफूखुसी ग्रेडिङ लेख्न पाइँदैन्, होङ्सीले लेखेको प्रमाण फेला पारिसकेका छौं । उनीहरुलाई बोलाएर सोधेपछि कारबाही हुन्छ ।’
होङ्सीले विगत लामो समयदेखि कानुन विपरीत ग्रेडिङ लेखेर ग्राहकलाई भुक्याएको पाइएको हो । विभागका महानिर्देशक पुडासैनीका अनुसार यसअघि पनि होङ्सीले इनिसिएल सेटिङ विगारेको फेला परेपछि कारबाही गरिएको थियो ।
अहिले पनि सिमेन्टमा आफूखुसी ग्रेडिङ लेखेर बेचेको भन्ने सुन्नमा आएको छ । अहिले विभागले आवश्यक सोधपूछ र अनुसन्धान गरिरहेको छ ।
७० प्रतिशत चिनियाँ र ३० प्रतिशत स्वदेशी लगानीमा खुलेको होङ्सी सिमेन्टले पटक पटक सरकारी कानुनलाई उल्ङ्घन गर्दै आएको पाइएको छ ।
याे पनि पढ्नुस
होङ्सी सिमेन्टको एकपछि अर्को बदमासीः ग्राहकलाई झुक्याएर बेचिन्छ सिमेन्ट
‘इनिसियल सेटिङ’ विगार्ने होङ्सीले सरकारी ल्याबलाई विश्वास गरेन, उसकै उपस्थितिमा पुनः गुणस्तर परीक्षण गरिँदै
होङ्सी सिमेन्टलाई चिनियाँ राजदूतको संरक्षण, होङ्सी नै प्रयोग गर्न चिनियाँ ठेकेदारलाई निर्देशन