काठमाडौं। स्कल इन्टरनेशनल नेपालको अध्यक्षमा रमेश लुइँटेल निर्वाचित भएका छन्। काठमाडौंको अलफ्ट होटलमा सम्पन्न स्कल नेपालको २५औँ वार्षिक साधारणसभाले लुइँटेलको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय अमात्य, द्वितीय उपाध्यक्षमा योगेन्द्र थापा चयन भएका छन्। महासचिवमा सञ्जीव पाठक र कोषाध्यक्षमा रुपेश जोशी चयन भएका छन्। साथै सदस्यमा सर्वोत्तम एल श्रेष्ठ, जनपाल थापा, पंकज प्रधानांग, युवराज श्रेष्ठ र शर्मिला केभी काफ्ले चयन भएको जनाइएको छ।
स्कल नेपालका निवर्तमान अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्वअध्यक्षद्वय प्रविण पाण्डे, भोला थापा र आरआर पाण्डेले संयुक्त रूपमा गरेका थिए।
साधारणसभामाको अवसरमा सँस्थामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। त्यस अवसरमा स्वर्गीय अम्बिका श्रेष्ठलाई मरणोपरान्त उपाधिबाट सम्मानित गरिएको थियो भने स्वर्गीय वसन्त मिश्रलाई वन्यजन्तु पर्यटनमा अग्रणी योगदानका लागि श्रद्धाञ्जली दिइएको थियो।
वातावरण संरक्षणमा लामो समयदेखि सक्रिय वरिष्ठ सदस्य नवराज घिमिरे र स्कल सचिवालयकी कार्यालय प्रमुख कल्पना श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो।
महासचिव सञ्जीव पाठकले स्कल नेपालको चार सदस्यीय प्रतिनिधिमण्डल अध्यक्ष निर्वाचित रमेश लुइँटेलको नेतृत्वमा आगामी जुन २६-२९ मा श्रीलंकामा हुने स्कल एशिया कांग्रेसमा सहभागी हुने जानकारी गराए।
सन् १९३४ मा स्थापित स्कल इन्टरनेशनल पर्यटन व्यवसायमा क्रियाशीलहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो। जसले मित्रता, सद्भावना र उत्तरदायी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
स्कल नेपालले स्कल नाइट, स्कल फण्डराइजिङ, कार र्याली, स्कल एड, स्कल रिट्रिट, फार्म ट्रिप, स्कल टक्स, स्कल हेरिटेज टुर, स्कल नेचर वाक्स, थावान फेस्ट, स्कल वाइल्डलाइफलगायतका कार्यक्रम गर्दै आएको छ।