काठमाडौं। संघीय सरकारले मोरङ जिल्लाका लागि पौने ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि मोरङमा ८ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
जसमध्ये समानीकरण अनुदानमा २ अर्ब ५६ करोड ८० लाख, सशर्त अनुदानमा ५ अर्ब ७० करोड २१ लाख र विशेष अनुदानमा २६ करोड ५७ लाख रुपैयाँ रहेको छ। विनियोजित बजेटमध्ये चालुतर्फ ७ अर्ब ४३ करोड ८७ लाख र पुँजीगत प्रकृतिमा १ अर्ब ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको हो।
मोरङ जिल्लामा एक महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन्। संदीय सरकारले मोरङ जिल्लामा विनियोजन गरेको बजेटमध्ये महानगरलाई १ अर्ब १७ करोड ६८ लाख, नगरपालिकालाई ४ अर्ब ४१ करोड ८९ लाख र गाउँपालिकालाई कुल ३ अर्ब १२ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
मोरङका ८ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पाउनेको सूचीको पहिलो नम्बरमा सुन्दरहरैचा नगरपालिकाले ९७ करोड ३ लाख, दोस्रोमा उर्लाबारी नगरपालिकाले ६६ करोड ९० लाख, तेस्रोमा बेलबारी नगरपालिकाले ५२ करोड १७ लाख र चौथोमा रतुमाई नगरपालिकाले ५१ करोड ३२ लाख रुपैयाँ बजेट पाएको छ।
साथै, आगामी वर्षको लागि रंगेली नगरपालिकाले ५० करोड २१ लाख, पथरी शनिश्चरे नगरपालिकाले ४६ करोड ४२ लाख, सुनवर्षी नगरपालिकाले ४१ करोड ३४ लाख र लेटाङ नगरपालिकाले ३६ करोड ५० लाख रुपैयाँ बजेट पाएको छ।
यस्तै, मोरङको ८ गाउँपालिकामध्ये संघीय सरकारले विनियोजन गरेको बजेटमा धनपालथानले ४३ करोड ३ लाख, बुढीगंगाले ४२ करोड ५३ लाख, जहदाले ३९ करोड ६६ लाख, मिक्लाजुङ गाउँपालिकाले ३९ करोड ४१ लाख, केराबारीले ३९ करोड २३ लाख, ग्रामथानले ३८ करोड ५५ लाख, कानेपोखरीले ३६ करोड ९१ लाख र कटहरी गाउँपालिकाका लागि ३२ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
