काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो निर्णयले नेपालमा ‘उधारो घरजग्गा कारोबार’ ठप्प हुने भएको छ। विभागले घरजग्गा खरिदबिक्री गर्दा बैंक स्टेटमेन्ट अनिवार्य गरेपछि हालसम्म हुँदै आएको उधारो कारोबार रोकिने भएको हो।
हालसम्म घरजग्गा खरिद गर्दा मालपोतमा खरिदकर्ता (जग्गा खरिद गर्ने व्यक्ति) र बिक्रीकर्ता (जग्गा धनी)ले पाउनेले पाएको र दिनेले दिएको जानकारी गराएपछि नामसारी (लिखत पास) हुने गरेको थियो। मालपोत अधिकृतको रोअवरमा खरिदकर्ता र बिक्रीकर्ताले लेनदेन भएको मौखिम जानकारीमात्रै गराएर हुने लिखत पासले वास्तविक लेनदेन कहिले र कति भयो भन्ने एकीन हुँदैन। यस्तो अवस्थामा जग्गाधनीलाई कबुलेको मूल्यको केही प्रतिशत खरिदकर्ताले दिएर बाँकी पैसा लिखत पास भएपछि दिने प्रचलन थियो।
विषेश गरी घरजग्गा व्यवसायीले एक जनाबाट खरिद गरेको जग्गाको थैली मूल्यको पुँजीगत लाभकर अर्थात् जग्गामा भएको मूल्य वृद्धिको ५ प्रतिशत कर सरकारलाई बुझाएर बाँकी सहमतिको प्रचलित मूल्य पछिको समयसीमा राखेर भुक्तानी गर्ने प्रचलन थियो। साथै, व्यक्तिगत चिनजान र पारिवारिक नाताभित्रको व्यक्तिमा पनि यस्तो उधारो कारोबारको प्रचलन धेरै थियो।
निश्चित रकम ‘बैनाबट्टा’ अर्थात् एड्भान्स दिएर बाँकी पैसा लिखत पास भएको केही समयपछि दिने प्रचलनलाई भूमि व्यवस्थापन विभागको नयाँ नीतिले रोकेको हो। अब मालपोत अधिकृतले लिखतमा उल्लेख गरेको मूल्य खरिदकर्ताले बिक्रीकर्ताको खातामा पठाएको विवरण हेरेपछिमात्रै लिखत पारित हुने व्यवस्था गरिएको हो।
यसले घरजग्गाको उधारो कारोबार हटाउने नेपाल घरजग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरे बताउँछन्। ‘कागजी रुपमा नियमगत बनाउन खोजिएको छ, हिजोको दिनमा किन्ने मान्छे र बेच्ने मान्छेको बिचमा मैले पाए भनेर पास गर्दा कति समयसम्म नपाएको अवस्था पनि थियो। तर, अब भने बैंक स्टेटमेन्ट बुझाउनुपर्ने हुँदा त्यो रोकिन्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘नयाँ व्यवस्थाले यो क्षेत्रलाई पारदर्शी बनाउँछ, पाउनु पर्नेले पैसा पनि समयमै पाउने भयो भने कुनै छलकपट पनि हुने भएन।’
‘गुडफर पेमेन्ट लिएर जानु पर्यो अथवा बैंक स्टेमेन्ट लिएर जानु पर्दा पैसा अघि बुझाउनुपर्ने हुँदा विश्वासको भर घरजग्गा खरिदबिक्रीमा रोक लागेको उनको भनाइ छ।
‘विश्वासको भरमा ६ महिनाभित्र पैसा दिँदा हुन्छ भनेर हुने र सट्टापट्टामा हुने घरजग्गाको कारोबार रोकिँदा घरजग्गाको कारोबार पनि घट्ने भयो,’ उनले भने। यी विषयलाई नीतिगत कार्यान्वयनमा सुधार गरेर सहज बनाउनुपर्ने उनको भनाइ छ।
विभागले जेठ १३ मा जारी गरेको निर्देशनअनुसार घरजग्गा कारोबारमा कालो धन अधिक प्रयोग भएको हुन सक्ने आशंका गर्दै खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेस गर्नुपर्ने, खरिद वा बिक्रीकर्ताले एक दिनमा एकपटक वा पटक पटक गरी ३ करोड बढी कारोबार गरे राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न बिक्रेता एवं खरिदकर्ता दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरेर पेस गरेपछि मात्रै लिखत पारित हुने व्यवस्था गरेको हो। विभागको उक्त व्यवस्थाले घरजग्गा कारोबारमा पारदर्शिता आउने नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन्।
‘पहिले लेनदेनको विषय मालपोत कार्यालयमा भौचर बुझाउँदा हुन्थ्यो भने अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुने व्यवस्था गरिएको छ,’ संघका अध्यक्ष लोहनीले क्यापिटल नेपालसँग भने, ‘यसले यो घरजग्गाको क्षेत्रमा वित्तीय पारदर्शिता ल्याउँछ।’
साथै, हालसम्म नगदमा दाखिलाको व्यवस्थालाई अब विद्युतीय माध्यमबाट दाखिला गर्नुपर्ने व्यवस्थाले समेत घरजग्गा क्षेत्रलाई थप पारदर्शी बनाएको उनको भनाइ छ।
‘जसको नाममा रजिष्टेसन गर्नुपर्ने हो, उसैको नामबाट गर्नु पर्छ भने बिक्रेताको समेत लाभकर उसैको नामबाट गर्नु पर्छ, डिजिटल पेमेन्ट गर्दा हुने व्यवस्थाले घण्टौ लाइन बस्नुपर्ने बाध्यता अन्त्य भयो,’ उनले भने।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटिए)को ग्रे लिस्टबाट मुलुकलाई हटाउन प्रयासमा घरजग्गालाई पारदर्शी बनाउन खोजेको हो। यो यसलाई सकरात्मक रुपमा हेर्नुपर्ने तर, बैंकिङ शाखा नभएका मालपोतमा बैंकका शाखा विस्तार गर्नु आवश्यक रहेको उनले बताए।
नयाँ व्यवस्थाअनुसार घरजग्गा खरिद–बिक्री कारोबार गर्दा १० लाख रुपैयाँदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्ने छ। तर, ५० लाख बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने छ।
साथै, घरजग्गा खरिद बिक्री कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरे १० लाख रुपैयाँ बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणालीमार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजसाथ पेस गर्नुपर्ने छ।
हिजोको दिनमा नगद बुझाउँदा हुने विषयलाई बैंकिङ सिस्टममा जानु पर्ने व्यवस्था गर्दा घरजग्गा व्यवसायी (दलाल)ले मूल्यमा लिने निश्चित प्रतिशत कमिशनसमेत घट्ने देखिन्छ। व्यवसायीले जग्गाधनीले पाउनेभन्दा शतप्रतिशत मूल्य वृद्धि गरी बिक्रीकर्ताबाट मोटो रकम असुल्ने प्रवृत्ति केही हदसम्म नयाँ नीतिले रोक्ने र दलालको आम्दानी घट्ने देखिन्छ।