काठमाडौं । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा ठूला राजमार्गलाई आपत्कालीन हवाई अवतरण गर्ने सडकका रुपमा विकास गर्ने बताएका थिए । नयाँ र अन्तर्राष्ट्रिय अभ्यासअनुसार मानिएको यस्तो योजना आगामी वर्षमै अघि बढाइने भनेर उल्लेखसमेत गरे । ‘सम्भावनाका आधारमा ठूला राजमार्गका कुनै खण्डको दायाँ बायाँ खाली क्षेत्र कायम गरी आपत्कालीन हवाई अवतरण गर्न सक्ने व्यवस्था मिलाइने छ,’ बजेटमा भनिएको छ ।
यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले त्यस्ता सडक कसरी र कहाँ कहाँ बनाउँदैछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । विभागमा बुझ्दा त्यसबारे आगामी वर्षको ठोस् योजना फेला परेन । बरु, दीर्घकालीनरुपमा अबका ठूला सडकलाई हवाइ ल्यान्ड गर्न सक्ने बनाउने रणनीतिक सोच मात्रै भएको पाइयो । विभागले आगामी वर्ष त्यसखालका सडक बनाउन कुनै योजना नबनाएको बताएको छ ।
निकै महत्त्वपूर्ण र रणनीतिक सोचका साथ यस्तो योजना आएकाले एक वर्षमै जहाज ल्यान्ड गर्ने सडक बनाउने योजना नरहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए । उनले भने, ‘यो बिल्कुल पोलिटिकल लिडरको भिजनअनुसार आएको कुरा हो । महत्त्वपूर्ण छ,’ उनले भने, ‘तर, आगामी वर्षभित्रै जहाड ल्यान्ड गर्न सक्ने सडक बनाउने योजना छैन ।’
हवाई अवतरणका लागि न्यूनतम सडक ३० मिटर फराकिलो हुनुपर्छ । अहिले भएका ४ र ६ लेनका सडकलाई विस्तार र स्तरोन्नति नगरेसम्म हवाई ल्यान्ड गर्ने अवस्था देखिँदेन ।
यता, विभागले कोसी—कमला र नारायणगढ—बुटवल सडकलाई विस्तार गरेपछि आकस्मिक अवतरण गर्न सक्ने बताएको छ । ‘आकस्मिक हवाई ल्यान्ड गर्ने सडक निर्माण योजनका लागि छुट्टै बजेट र हाम्रो प्लान केही छैन,’ विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘तर, सम्भावना हेरेर ठूला सडकको विस्तार भएपछि २०÷२२ मिटरकै सडकमा हवाई अवतरण हुन सक्छ ।’