पर्सा। सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ। हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ। संघय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन्।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए।
‘चालू आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असारपछि मात्रै गाभिनेछ’, उनले भने, ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्तासमेत भइसकेकाले साउन १ देखि गाभिनेमा हामी आशावादी छौं।’
सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ। विश्व बैंकसँग ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो। भारतले २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरेको छ। यहाँ रेलबाट सोझै आयातीत सामान ल्याइन्छ।
सुक्खा बन्दरगाह व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ। समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि तीन अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ। यो सम्झौता आगामी असारमा समाप्त हुँदै छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व संकलन गरेको जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। यो जाँचचौकी ११५ बिघामा फैलिएको छ।
पाँच वर्षका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको एक अर्ब ८० करोड ९० लाख एक हजार २०० पट्टाबहाल बुझाउने सम्झौता छ।–रासस