गण्डकी। राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणना तयारी अगाडि बढाएको छ। कार्यालयले आगामी चैतदेखि दोस्रो आर्थिक गणना सुरु गर्ने तयारी थालेको तथ्यांक समन्वय कार्यालय, कास्कीका तथ्यांक समन्वय अधिकारी नन्दलाल सापकोटाले बताएका हुन्।
उनका अनुसार पहिलो आर्थिक गणना २०७५ मा भएको थियो। पाँच वर्षको अन्तरालमा हुनुपर्ने आर्थिक गणना कोभिड–१९ महामारीलगायत कारणले सात वर्षमा हुन लागेको हो।
आर्थिक गणनाका विषयमा पोखरामा आइतबार आयोजित अन्तरक्रियामा तथ्यांक समन्वय अधिकारी सापकोटाले चैतभित्र जिल्लास्तरमा गणना कार्यालय स्थापना एवं २०८३ वैशाख र जेठमा गणना कार्य हुने बताए।
‘सरोकार भएका पक्षसँग छलफल र आर्थिक गणनाका विषयमा जनस्तरमा सचेतना अभिवृद्धि गर्ने काम सुरु भएको छ’, उनले भने, ‘गणनाका लागि निर्देशिका, कार्यविधि, प्रश्नावली तयारीदेखि अन्य प्राविधिक तथा प्रशासनिक काम भइरहेका छन्।’
देशको सम्पूर्ण आर्थिक गतिविधिका विवरण संकलन गर्ने र आर्थिक क्रियाकलापसम्बन्धी तथ्यांक अद्यावधिकका लागि आर्थिक गणना महत्त्वपूर्ण हुने उनको भनाइ छ। तथ्यांक समन्वय अधिकारी सापकोटाले नेपालका सन्दर्भमा आर्थिक गणना नयाँ भए पनि यसले सरकारलाई तथ्यमा आधारित नीति तथा निर्णय प्रक्रिया अवलम्बन गर्न मद्दत पुर्याउने बताए।
तथ्यांक ऐनले गोपनीयताको हकको रक्षा गरेकाले आर्थिक गणनाका क्रममा यथार्थ विवरण दिन सबैमा आग्रह गरे। आर्थिक गणनामा विभिन्न २१ क्षेत्रका आर्थिक क्रियाकलाप समेटिने कार्यालयले जनाएको छ।
२०७५ को गणनामा देशभर ९ लाख २३ हजार ३५६ वस्तु तथा सेवाको उत्पादन र बिक्री गर्ने प्रतिष्ठान गणना भएका थिए। गण्डकीमा १ लाख ६८४ र कास्कीमा ३० हजार ७४५ व्यावसायिक प्रतिष्ठान गणनामा समेटिएका थिए।–रासस