काठमाडौं। जिल्ला अदालत काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा फरार १९ आरोपीलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ। अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म मुद्दा सुनुवाइमा नआएकाले ३५ दिने समयसीमा दिएर सूचना जारी गरेको हो।
सुन तस्करीमा नेकपा माओवादी केन्द्रका नेता जीवन चलाउनेसहितका व्यक्ति फरार छन्। अदालतले १९ जनाको नाममा पक्राउ पुर्जी भएर पनि बेपत्ता तामेल भएर आएपछि गत जेठ ११ मा पक्राउ पुर्जीको सूचना प्रकाशित गरेको थियो।
२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–सुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। ब्रेक सुभित्रको सुन परीक्षण गरिँदा ६० किलो ७१६ ग्राम रहेको फेला परेको थियो।
दिलीप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिको नाममा उक्त ब्रेक सु ल्याइएको छानबिनका क्रममा सीआईबी छानबिनले देखाएको थियो।
सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० भदौ ३१ मा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फस्र्योट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा सीआईबीले मुद्दा दायर गरेको हो।
त्यसपछि सीआइबीले दोस्रो चरणको अनुसन्धानमा ४६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा २०८१ असार १८ मा मुद्दा दायर गरेको थियो। मुद्दा दायर गर्नासाथ २० जना पक्राउ परेका थिए भने २६ जना फरार थिए।
तीमध्ये अहिले १९ जना भने बेपत्ता भएपछि गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए। ‘फरार भएकाले तोकिएको समयभित्र नआए अदालत फैसलाको प्रक्रियामा अघि बढ्छ भन्न खोजिएको हो। अरूको हकमा मुद्दाको फैसला प्रक्रिया हुन्छ। फरार रहेकाको हकमा पछि निर्णय हुन्छ’, उनले भने।
यीमध्ये ६ जना चिनियाँ नागरिक लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, हेनेरी भन्ने झोङ जिङचुआन र पिङ लिङफेङविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
यस्तै, नेपाली नागरिकमा झापाका लेखनाथ कार्की डोली, दोलखाका कुमार भुजेल एवं विकेन्द्र भुजेल, सिन्धुपाल्चोकका राम गुरुङ, पर्वतका जीवनकुमार गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तीन जना भारतीय नागरिक माही भन्ने अगोल कलप्पा कुटे, कमलकान्त कुल्थिया र अभिजीत तानाजी मुलिकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो।
बर्दियाका जीवन चलाउने, दोलखाका दिलीप भुजेल, उदयपुरका भीमबहादुर मगर र भारतका टासी शेर्पा र काभ्रेका पाल्साङ लामालाई अदालतले ३५ दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ।
