तनहुँ। कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसार सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिए।
किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो। विशेषगरी विषादीको बढदो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ।
कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आइपिएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो। कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हामो स्वास्थ्यमा असर पुर्याउने गरेको अवस्था रहेकाले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताए।
उनले भने, ‘रासायनिक विषादीको विकल्प सिकाउनुपर्छ । तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएका छौँ। यसले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको छ। यसलाई निरन्तरता दिन अनुरोध गरेका छौँ।’ १६ दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उनले बताए।
यसैबीच ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका–१ कुन्छाली टोलका किसानलाई आइपिएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ। विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताए। बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेको भनाइ छ।