काठमाडौं। चालू आर्थिक वर्षको दसमहिने अवधिमा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २१७ अर्ब ९१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो।
आज राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको दसमहिने आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा आयात÷निर्यात दुवै बढेको देखिएको हो।
समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलंैचीलगायत वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०८१/८२ को दस महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४७४ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, खाने तेल, यातायातका उपकरण, सवारीसाधन, स्पेयर पार्टस्, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइलालगायत वस्तुको आयात घटेको छ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दस महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२५६ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२२ अर्ब २ करोडको थियो।