काठमाडौं। बैंकबाट कर्जा लिएका पुराना ऋणीलाई ब्याजको भार औषत साढे २ प्रतिशत बिन्दुले कम पर्ने देखिएको छ। एकवर्षे अवधिमा बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)को कर्जाको औषत ब्याजदर २.४९ प्रतिशत बिन्दुले घटेर ९.२९ प्रतिशत कायम भएको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको कर्जाको औषत ब्याजदर ११.७८ प्रतिशत कायम थियो। एकवर्षे अवधिमा ब्याजको भार वाणिज्य बैंकका ऋणीलाई २.२३ प्रतिशत बिन्दु, विकास बैंकका ऋणीलाई २.४४ प्रतिशत बिन्दु र वित्त कम्पनीका ऋणीलाई २.८० प्रतिशत बिन्दुले घटेको छ।
२०८२ वैशाखमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशत, विकास बैंकको ९.४५ प्रतिशत र वित्त कम्पनीको १०.३१ प्रतिशत रहेको छ। घटेको ब्याजदर नयाँका हकमा तुरुन्तै लागू भए पनि पुरानाका हकमा भने बैंकहरूले विस्तारै समायोजन गर्दै जाने गरेका छन्।
समीक्षा अवधिमा बैंकहरूको आधार दर (बेसरेट) नै घट्दा कर्जाको ब्याजदर घटेको देखिन्छ। एक वर्षमा वाणिज्य बैंकहरूको औषत बेसरेट २.१९ प्रतिशत बिन्दुले घटेर ७.७८ प्रतिशत कायम भएको छ। गत वर्षको वैशाखसम्म बैंकहरूको औषत बेसरेट १०.०३ प्रतिशत कायम थियो।
यसमा वाणिज्य बैंकको २.१७ प्रतिशतले घटेर ६.१७ प्रतिशत, विकास बैंकको १.९१ प्रतिशत बिन्दुले घटेर ८.२४ प्रतिशत र वित्त कम्पनीको २.५० प्रतिशत बिन्दुले घटेर ७.८४ प्रतिशत बेसरेट २०८२ वैशाखमा कायम भएको छ।
२०८२ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको औषत ब्याजदर ४.३७ प्रतिशत, विकास बैंकको ५.११ प्रतिशत र वित्त कम्पनीको ६.१५ प्रतिशत रहेको छ। २०८१ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको औषत ब्याजदर ६.३५ प्रतिशत, विकास बैंकको ७.३१ प्रतिशत र वित्त कम्पनीको ८.५५ प्रतिशत कायम भएको थियो।
२०८१ वैशाखमा ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ३.०२ प्रतिशत रहेकामा २०८२ वैशाखमा २.९५ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको औषत ब्याजदर २०८१ वैशाखमा २.८८ प्रतिशत रहेकामा २०८२ वैशाखमा ३.०० प्रतिशत छ।