काठमाडौं। महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित 'महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५' संस्करण ४ सम्पन्न भएको छ।
गत जेठ २१ देखि २४ गतेसम्म आयोजित प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ। यस्तै नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, मर्चेन्ट बैंक तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए। साथै उक्त प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण कार्यक्रम २६ गते सोमबार सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियललाई मिश्रसँगै बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंक लि.का अमृत चौलागाई, उत्कृष्ट विकेट किपर नबिल बैंककै विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भए।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५ संस्करण ४ का सम्पूर्ण प्रायोजक, सहभागी सम्पुर्ण टिम, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गरेका व्यक्ति तथा संस्थालाई बैंक हार्दिक आभार व्यक्त गरेको छ।