काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ कोरोना भाइरसको सचेतना र तयारीमा मौन देखिएको छ । निजी क्षेत्रको अर्काे संगठन नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका विषयमा विभिन्न गतिविधि गरिरहँदा देशभर निजी क्षेत्रको सबैभन्दा ठूलो व्यवसायिक सञ्जाल रहेको महासंघको कुनै पनि गतिविधि देखिएको छैन ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी घोषणा गरेको कोरोना भाइरसका लागि सरकारले उडान कटौती गर्दै, विभिन्न मुलुकका पर्यटकलाई नेपाल आउन रोक लगाउने र कोरोना संक्रमण देखिए सो क्षेत्र ‘लकडाउन’को निर्णय गरिरहँदा महासंघले आफनो तर्फबाट कुनै पनि गतिविधि अघि बढेको छैन ।
निजी क्षेत्रको अर्काे संस्था चेम्बरले भने कोरोना भाइरस विरुद्ध निरन्तर काम गरिरहेको छ । चेम्बरले नेपालबाट चीनलाई मास्कसमेत पठायो । त्यस्तै कोरोना भाइरस नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्माेमिटर, एप्रान, ह्याण्ड ग्लोभलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।
कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सरकारलाई निजी क्षेत्रको तर्फबाट सहजीकरण लागि चेम्बरका उपाध्यक्ष दिपक मल्होत्राको संयोजकत्वमा कोरानो भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरेको छ ।
चेम्बरले विमानस्थलबाट ओहोरदोहोर गर्नलाई निःशुल्क मास्क वितरण गर्ने तयारीसमेत थालेको छ । चेम्बरले निम्बस गु्रपलाई मास्क उत्पादनका लागि अनुरोध समेत गर्यो । मेसिन भए पनि उत्पादन नगरेको निम्बसले चेम्बरको अनुरोधपछि मास्क उत्पादन थालेको हो । निम्बसले उत्पादनको पहिलो लट चेम्बरलाई दिइसकेको छ ।
व्यवसायी मल्होत्राले पनि दैनिक ७५ हजार उत्पादन क्षमताको भएको मास्क उत्पादन गर्ने मेसिन अर्डर गरिसकेका छन् । मेसिन तीन दिनपछि नेपाल आइपुग्ने मल्होत्राले जानकारी दिए ।
‘हामी कोरोना भाइरसका विषयमा गम्भिर भएका छौं, यस्तो विपद्को समयमा हामी एकजुट भएर यसको न्यूनीकरण र नेपालमा संक्रमण नफैलियोस् भनेर विविध गतिविधी गरिरहेका छौं,’ मल्होत्राले भने । सचेतनादेखि मास्क उत्पादनमा जोड दिएर अगाडी बढेको उनले बताए ।
व्यवसायीबीच आलोचना हुन थालेपछि दबाब महसुस गरेर महासंघल बिहीबारमात्र जोखिम न्यूनिकरणका लागि काम गर्न उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलले स्वास्थ्य उपकरण, औषधी, सरसफाईका सामाग्री संंकलन गर्ने र वितरण गर्ने तथा जनचेतना फैलाउने निर्णय गरेको छ ।
चेम्बरले आफैं उत्पादन, वितरण गर्दै अगाडि बढिसकेको अवस्थामा महासंघले निर्णय मात्र गरेको छ । महासंघले कोरोना भाइरसको प्रकोपकाबीच पनि आफ्नो साधारणसभा र निर्वाचनलाई प्राथमिकता राखेको भन्दै आलोचित समेत भएको छ ।
महासंघको अध्यक्ष भवानी राणाले महासंघले कोरोनाका विषयमा गतिविधि गर्न ढिला भएको स्वीकार गरिन् । ‘हामी जुन प्रकारले अगाडि बढ्नुपथ्र्याे तर हुन नसकेको हो,’ उनले भनिन् ।
‘हाम्रो पूर्व योजनाअनुसार साधारणसभाको सुचना जारी भएको र त्यसका तयारीले गर्दा पनि हामी ढिला भएका हौं अब युनिसेफ र यूएनडिपीसँगको सहकार्यमा विभिन्न गतिविधि गर्न लागेको छौं ।’