काठमाडौं । रिडी हाईड्रोपार डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गर्न लागेको सोलार आयोजनामा ३ ओटा बैङ्कले ऋण लगानी गर्ने भएका छन् । कम्पनीले रुपन्देहीको तिलोत्तममा ८.५ मेगावाटको सोलार आयोजना निर्माण गर्न बैङ्क अफ काठमाडौंको अगुवाईमा सिटिजन्स र नेपाल बंगलादेश बैङ्कबीच सहवित्तियकरण ४९ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ ।
आयोजना आगामी साउनदेखि निर्माण शुरु भई २०७६ चैत्र महिना भित्र सम्पन्न गरिने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । उनका अनुसार सोलार आयोजना निर्माण गर्न ६५ करोड ४६ रुपैयाँ लाग्ने अनुमान छ । यसमध्ये ४९ करोड बैङ्कको ऋण र १६ करोड ४६ लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने छ । आयोजना निर्माण गर्न भारतको जीईटी एण्ड डी इण्डिया लिमिटेडसंग सम्झौता भएको न्यौपानेले जानकारी दिए ।
प्रस्तावित बुटवल सौर्ये आयोजनाबाट वार्षिक १ करोड ४५ लाख १० हजार ५८४ युनिट विद्युत उत्पादन हुने छ । सो बिजुली बिक्रीबाट १० करोड ५९ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । नेपाल विद्युत प्राधिकरणले सोलारको बिजुली प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा किन्ने सम्झौता गरेको छ । योजना निर्माण गर्नका लागि कम्पनीको १७ औं वार्षिक साधारण सभाले १०० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि परित गरेको छ ।
कम्पनीले सोलार आयोजना निर्माणका लागि तिलोत्तमा नगरपालिका वडा नम्बर ७ मा २६ विगाहा जग्गा लिज सम्झौता सम्पन्न गरेको छ । सो जग्गामा करिब ३२ हजार सोलार प्यानल जडान हुनेछन । उक्त सौर्य फर्मबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारण लाइन मार्फत जोगीकुटी सवस्टेशनमा समाहीत गरिनेछ ।
रिडीले विद्युत प्राधिकरणले तराईका विभिन्न जिल्लाहरुका अवस्थित सवस्टेशनमा जडान गर्ने गरी ६४ मेगावाट क्षमता सोलार प्लाण्टको लागि मिति २०७३ जेठ २६ गते आव्हान गरेको बोलपत्रमा भाग लिएर बुटवलको जोगीकुटीमा अवस्थित सवस्टेशनको ३३ केभी भोल्टेज प्रणालीमा जडान गर्ने गरी ८.५ मेगावाटको सोलार आयोजना निर्माण तथा संचालन गर्ने जिम्मा पाएको हो ।
कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाहरुको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरी मिति २०६६ कात्तिकदेखि बिजुली उत्पादन गरिरहेको छ ।
कम्पनीको व्यवस्थापनमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड मार्फत धादिङ्ग जिल्लाको थाक्रेमा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत आयोजना पूनःनिर्माण गरि संचालन गरिरहेको छ । पाँचथर तथा ताप्लेजुंग जिल्लाबीच सीमाना भई बहने इवाखोलामा ९.९ मेगावाटको क्षमताको इवाखोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भई परिक्षणको चरणमा रहेको छ । रैराङमा यस कम्पनी व्यवस्थापनबाट निर्माण कार्य भइरहेको हो । रिडी कम्पनीको सो आयोजनामा २५ प्रतिशत रकम सेयर लगानी रहेकोे छ ।