काठमाडौं। विदेश घुम्न गएका नेपालीले सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने भएको छ। शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विदेश घुम्न गएका नेपालीले मोबाइल, जुत्तालगायत सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने भएको हो।
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि कुनै वस्तु ल्याउँदा कानुन बमोजिम महसुल तिरेर ल्याउन पाउने उल्लेख गरिएको छ। सो सामाग्रीमा टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, घडी, सेलुलर मोबाइल फोन एक/एक थान उल्लेख गरिएको छ।
यस्तै, लुगाफाटा, जुत्ता, कष्मेटिक्स जस्ता वस्तु बढीमा पाँच/पाँच थान भन्सार तिरेर ल्याउन पाउने सो पत्रमा उल्लेख छ। यस्तै, घरायसी प्रयोगका लागि मिक्सर, जुसर, सिलाई मेशिन, इस्त्री, राइस कुकर जस्ता वस्तु बढीमा दुई दुई थान विद्युतीय उपकरण ल्याउन पाइने छ।
यसैगरी, दश किलोग्रामसम्म खाद्य परिकार, डाक्टर, इञ्जिनियर खेलाडी जस्ता पेशागत यात्रुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने वस्तु बढीमा दुई/दुई थान सामाग्री ल्याउँदा भन्सार बुझाउनुपर्ने सो पत्रमा उल्लेख छ।