काठमाडौं। चन्द्रागिरि हिल्सले सतप्रतिशत (१ः१) हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो पूँजीगत संरचनालाई थप सुदृढ बनाउन र बैंकको ऋण भार घटाउन हकप्रद सेयर निष्कासन गर्ने योजना अघि सारेको हो।
कम्पनीले हकप्रद सेयरमार्फत प्राप्त हुने नयाँ पूँजीलाई पूर्ण रूपमा बैंकको ऋण भुक्तानीमा उपयोग गर्ने निर्णयसहित आवश्यक प्रकिया अघि बढाएको छ। कम्पनीको यो निर्णय र व्यावसायिक स्थिरताका आधारमा रेटिङ एजेन्सी इक्रा नेपालले चन्द्रागिरिलाई ‘नकारात्मक प्रभाव पर्न सक्ने’ निगरानीको सूचीबाट हटाउँदै यसको साख मूल्यांकनलाई थप बलियो र स्थिर बनाएको छ।
इक्रा नेपालले चन्द्रागिरि हिल्सको ‘इस्युअर रेटिङ’लाई ‘बीबी प्लस’ र २ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक ऋणको रेटिङलाई ‘एलबीबी प्लस’ मा पुनर्पुष्टि गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उल्लेख्य सुधार आएको र लगानीको सुरक्षा अवस्था सन्तोषजनक रहेको स्पष्ट पार्छ। सन् २०२५ को अन्त्यदेखि व्यावसायिक सञ्चालन पुनः पुरानै लयमा फर्किएसँगै कम्पनीको वित्तीय जोखिम न्यून हुँदै गएको एजेन्सीको निष्कर्ष छ।
कम्पनीले हाल २ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋण सुविधा उपयोग गरिरहेको छ। पूँजीगत संरचनाअनुसार कम्पनीको नेटवर्थको तुलनामा ऋणको अनुपात १.२ गुणा मात्र रहेको छ। जसलाई व्यवसायिक दृष्टिकोणले निकै सुदृढ मानिन्छ।
प्रस्तावित सतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको पूँजीगत आधार थप मजबुत हुने र ऋणको हिस्सा उल्लेख्य रूपमा घट्ने देखिएको छ। यो रणनीतिकले वार्षिक रूपमा भुक्तानी गर्नुपर्ने ब्याज खर्चमा भारी कटौती भई कम्पनीको आगामी मुनाफामा निकै सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
अनुभवी प्रबर्द्धकहरूको समूह र नेप्सेमा सूचीकृत भएका कारण कम्पनीको वित्तीय पारदर्शिता र पुँजी बजारमा पहुँच उच्च रहेको छ।
चन्द्रागिरि हिल्सको व्यापारिक विवरण निकै उत्साहजनक छ। आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा कम्पनीले १ अर्ब रुपैयाँको कारोबार गरेको थियो। सन् २०२५ मा पनि ९० करोड २० लाख रुपैयाँको व्यापार कायम राख्दै कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै ४५ करोड ६० लाख रुपैयाँको कारोबार गरिसकेको छ।
सञ्चालन मुनाफा ५५.२ प्रतिशतको उच्च विन्दुमा रहनुले कम्पनीको मुख्य व्यवसायिक आम्दानी निकै बलियो रहेको पुष्टि गर्छ। नाफाको हिसाबले हेर्दा सन् २०२४ मा २० करोड र २०२५ मा १८ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरी कम्पनीले आफूलाई एक नाफामूलक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको छ। साथै, कम्पनीको ब्याज तिर्ने क्षमता ३.० गुणा र सावाँ-ब्याज तिर्ने नगद प्रवाह क्षमता १.३ गुणा रहेको छ। यी सूचकहरूले कम्पनीसँग आफ्नो वित्तीय दायित्व पुरा गर्न पर्याप्त आम्दानी रहेको देखाउँछन्।
कम्पनीको नेतृत्व नेपालको प्रतिष्ठित व्यावसायिक घराना आईएमई ग्रुपले गरिरहेको छ। प्रबर्द्धकहरूमध्ये हेमराज ढकालको १९.२ प्रतिशत र उत्तम कुमार नेपालको १२.८ प्रतिशत मुख्य सेयर स्वामित्व छ। अन्य प्रमुख लगानीकर्ताहरूमा चन्द्रप्रसाद ढकाल, अम्बिका प्रसाद पौडेल र भाटभटेनी सुपरमार्केट जस्ता प्रतिष्ठित व्यक्तित्व तथा संस्थाहरू रहेका छन्। अनुभवी प्रबर्द्धकहरूको समूह र नेप्सेमा सूचीकृत भएका कारण कम्पनीको वित्तीय पारदर्शिता र पुँजी बजारमा पहुँच उच्च रहेको छ।
निष्क्रिय रहेको समयको चुनौतीलाई चिर्दै कम्पनीले ऋण पुनर्तालिकीकरण र हकप्रद सेयरमार्फत वित्तीय दायित्व घटाउने जुन योजना ल्याएको छ।
चन्द्रागिरि हिल्सका लागि काठमाडौं उपत्यकाको एक मात्र केबलकार, १०० कोठाको लक्जरी बुटिक रिसोर्ट र धार्मिक पर्यटकीय महत्व प्रमुख सबल पक्षहरू हुन्। यहाँ केबलकारका अतिरिक्त जिपलाइन, वाल क्लाइम्बिङ र स्विङ जस्ता आधुनिक साहसिक गतिविधिहरूले आम्दानीलाई थप विविधीकरण गरेका छन्। सन् २०२५ मा कुल पर्यटकमध्ये २६ प्रतिशत विदेशी तथा सार्क राष्ट्रका नागरिक हुनुले कम्पनीको अन्तर्राष्ट्रिय साख र वैदेशिक मुद्रा आर्जनमा पनि योगदान पुगेको छ।
निष्क्रिय रहेको समयको चुनौतीलाई चिर्दै कम्पनीले ऋण पुनर्तालिकीकरण र हकप्रद सेयरमार्फत वित्तीय दायित्व घटाउने जुन योजना ल्याएको छ। त्यसले चन्द्रागिरि हिल्सको भविष्यलाई निकै आशावादी बनाएको छ।
अनुभवी व्यवस्थापन, रणनीतिक लोकेसन र बढ्दो पर्यटकीय आकर्षणका कारण आगामी दिनमा कम्पनीले आफ्नो व्यवसाय र मुनाफालाई अझै नयाँ उचाइमा पुर्याउने निश्चित देखिएको छ।