तनहुँ। जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले विपद् पूर्वतयारी तथा प्रतिकार्य, मौसमजन्य विपद् प्रतिकार्य र राजमार्ग अवरोध हटाउने कार्ययोजना २०८२ स्वीकृत गरेको छ।
मनसुनको समय नजिकिँदै गरेकाले वर्षाले जिल्लामा हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप समितिले प्रतिकार्ययोजना स्वीकृत गरेको समितिका संयोजक अध्यक्ष प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारले जानकारी दिए।
जिल्लामा हुन सक्ने सबै प्रकारका विपद्, विपद्का सम्भावित क्षेत्र, जोखिम न्यूनीकरण गर्न गर्न सकिने उपाय, विपद् घटेमा सम्बोधन गर्न परिचालन हुने निकाय, स्रोतसाधनको पर्याप्तबारे समेटेर विपद् प्रतिकार्य योजना बनाइएको उनले बताए। तनहुँ बाढीपहिरोको उच्च जोखिममा रहेकाले विपद् न्यूनीकरणका लागि कार्ययोजना बनाएर अगाडि बढेको उनको भनाइ छ।
त्यस्तै ६० प्रतिशत विपद् मौसमजन्य कारणले हुने भएकाले समितिले मौसमजन्य विपद् प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ। कार्यालयले राजमार्ग अवरोध हटाउने जिल्ला कार्ययोजनासमेत स्वीकृत गरेको छ।
७२ किलोमिटर पृथ्वी राजमार्ग खण्ड तनहुँमा भएको र मौसमको समयमा राजमार्ग अवरोध हुन सक्ने सम्भावना भएकाले राजमार्ग सुचारु गराउनका लागि राजमार्ग अवरोध हटाउने जिल्ला कार्ययोजना बनाइएको उनले बताए।
प्रमुख सडकमा जोखिमको क्षेत्र पहिचान गरेर सम्भावित जोखिम न्यूनीकरणका लागि सरोकारवाला कार्यालय परिचालन हुने प्रजिअ अधिकारीले जानकारी दिए।-रासस