बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप पल्टिँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।
बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लुप्र०१००१च१७७५ नम्बरको जिप बेलुकी दुर्घटनामा परेको हो। गाडीमा चालकसहित १६ जना सवार थिए। १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले बताए।
घाइतेमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुमा सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टीकाकुमारी कुँवर रहेका छन्।
यस्तै, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर छन्।
जिप चालक गोविन्द र यात्रु लुम्बिनीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए। घाइते सबैको बुर्तिवाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।