काठमाडौं। माइती नेपालले आन्तरिक मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
आन्तरिक मानव बेचबिखन, यौन शोषण, श्रम शोषण र लागुऔषध दुर्व्यसनविरुद्धको सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवा समूह, महिला सङ्गठन, सुरक्षा निकाय तथा स्थानीय सरकारका सरोकारवाला निकायको उपस्थिति थियो।
कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सार्वजनिक सुनुवाइ तथा स्थानीय निकाय, प्रहरी, नागरिक समाज र सरोकारवालाको बीचको सहकार्यद्वारा ठूला परिवर्तन सम्भव रहेको बताइन्। यसले बेचबिखन र हिंसाको जोखिम घटाउन सहयोग पुर्याउने उनको भनाइ थियो ।
साथै उनले छोरीहरू, विशेष गरी नाबालिगहरूलाई शोषणजन्य अवस्थाबाट तत्काल उद्धार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, रोकथाममा शिक्षा र सचेतनाको महत्त्वपूर्ण भूमिकामार्फत युवाहरूको सचेतना र सक्रियताले समाजलाई मानव बेचबिखनरहित बनाउन सकिने विश्वास व्यक्त गिरन्।
कार्यक्रममा विशेष गरी मनोरञ्जन क्षेत्रमा महिला र किशोरीका लागि सुरक्षित र मर्यादित वातावरण निर्माणमा समुदाय तथा सम्बन्धित निकायको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको थियो। नेपाल प्रहरीका अधिकारी र स्थानीय सरकारका प्रतिनिधिले आपसी समन्वय अभिवृद्धि गरि एकीकृत रूपमा आन्तरिक मानव बेचबिखनविरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा नाबालिगको बढ्दो शोषण तथा होटल, स्पा, क्याबिन रेस्टुरेन्ट, डान्स बारलगायतका मनोरञ्जनस्थल तथा वयस्क मनोरञ्जन क्षेत्रमा बढ्दो अपराधिक गतिविधिप्रति गम्भीर चासो उठाउँदै समाधान खोज्ने प्रयास गरिएको थियो।