काठमाडौं। नेपाल विद्युत प्राधिकरण (एनइए)को निवर्तमान नेतृत्वसँग असहमति राखेका निजी क्षेत्र तथा सरोकारवालले वर्तमान नेतृत्वबाट उही समस्या ब्यहोरिरहेका छन्।
तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीबाट आजित बनेको निजी क्षेत्र वर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यबाट पनि सोही व्यवहार भोग्न थालेका छन्।
विगतको नेतृत्वले आन्तरिक आपूर्ति भद्रगोल बनाएर निर्यातको नाटक गरिरहेको हुन्थ्यो, भने अहिलेको नेतृत्व पनि सोही कित्तामा उभिन पुगेको छ। खासगरी, तराई यतिखेर बसिनसक्नु गर्मी छ। तर, घण्टौ लाइन जाँदासमेत आउँदैन। प्राधिकरणको हटलाइनमा फोन नलाग्ने बनाएर राखिएको हुन्छ। आन्तरिक प्रणाली सुधारेर स्वदेशमा विद्युत् पर्याप्त दिनुपर्नेमा उनीहरुलाई उखर्माउलो गर्मी खुवाएर निर्यातको प्रचारबाजी गरिएको छ।
घण्टौसम्म लाइन जाँदा व्यवसायीको करोडौं रुपैयाँ क्षति भोग्न बाध्य भएको छ। नेपालको ऊर्जा क्षेत्रमा विद्यमान विद्युत कटौती, ट्रिपिङको समस्या र करेन्ट लागेर हुने आगलागीका घटनाहरू नेतृत्व परिवर्तन भए पनि जस्ताको तस्तै छ।

विद्युत कटौतीका कारणले बुटवलका कुखुरा पालक व्यवसाय छवि खरेलले दैनिक ३० देखि ४० हजार रुपैयाँको क्षति ब्यहोरिरहेका छन्। खरेल एग्रो फार्मका सञ्चालक खरेलले जुन १३ मा आफ्नो फार्ममा विद्युत आपूर्तिको अनियमितताका कारण सयौँ कुखुरा मरेको जानकारी दिएका छन्।
हाल देशमा तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुगेको छ। उच्च आद्रतासँगै यो ४७ देखि ४९ डिग्री सेल्सियस महसुस हुने गरेको छ। चरम गर्मीमा कुखुरालाई बचाउन फार्महरूमा लाखौँ खर्च गरेर कुलर, एडजस्ट फ्यान, पानी तान्ने मोटर र दाना बनाउने गरेर विद्युतमा आधारित प्रविधिहरू खरेलले जडान गरेका छन्।
विगत ८-९ वर्षदेखि उनले यो फार्म सञ्चालन गरिरहेका छन्। उनले विद्युत आपूर्तिको समस्या नयाँ नभएको तर गत वर्षदेखि अझ विकराल बनेको बताए।
गत जेठ ३० गते खरेलको फार्ममा करिब ६-७ घण्टा विद्युत आपूर्ति बन्द भयो। यसले ५ हजार कुखुराका लागि पानी भर्ने मोटर, कुलरहरू बन्द भए। यति मात्रै नभई दाना बनाउने मेसिनमा दाना अड्किएर उपकरणसमेत बिग्रियो। ‘एकछिनको लागि जेनेरेटरले काम गरे पनि लामो समयको लोड धान्न नसक्दा जेनेरेटर पनि उड्यो,’ खरेलले भने, ‘विकल्प रहेन, अनि कुखुरा ठाउँको ठाउँ मरे।’
उनले एकैपटक १०-१२ डिग्री तापक्रम बढ्दा कुखुराहरू तनावमा परी मरेको बताए। फार्ममा हाल ३ करोड रुपैयाँ उनको लगानी छ। विगत ८-९ वर्षदेखि उनले यो फार्म सञ्चालन गरिरहेका छन्। उनले विद्युत आपूर्तिको समस्या नयाँ नभएको तर गत वर्षदेखि अझ विकराल बनेको बताए।
‘पहिले यस्तो समस्या थिएन, लाइन निरन्तर आउँथ्यो। अहिले दिनमा ९-१० पटकसम्म लाइन काटिन्छ, र रातभर पनि विद्युत नहुने समस्या सामान्य भएको छ’ उनले क्यापिटल नेपालसँग दुःखेसो पोखे।

विद्युत कटौतीका कारण गियरबक्स, मोटर, पंखा उपकरण बारम्बार बिग्रने र दाना उत्पादन प्रक्रियामा अवरोध आउने गरेको उनीले सुनाए। ५ सय केजी दाना भरिएको बेला लाइन काटिँदा मेसिन बिग्रिने र दाना हातले निकाल्नुपर्ने बाध्यता उनको छ। यस्ता समस्याका कारण लाखौं रुपैयाँ बराबरका उपकरणहरू बिग्रिएर थन्किएका छन्।
खरेलका अनुसार यो समस्या उनको फार्ममा मात्र सीमित छैन। तराईका अधिकांश पोल्ट्री किसानले यस्तै समस्या भोगिरहेका छन्। ‘सबै पीडामा छन्, तर राज्यबाट कुनै सहयोग वा सुनुवाइ नहुने डरले धेरैले बोल्न चाहँदैनन्,’ उनले भने, ‘चितवनलगायतका ठूला पोल्ट्री फार्महरूमा पनि यो समस्या व्यापक छ।’
विद्युत आपूर्ति नियमित हुने विश्वासमा लाखौँको लगानी गरेर आधुनिक प्रविधि जडान गरेका किसान अहिले राज्यको गैरजिम्मेवारीका कारण ठूलो आर्थिक संकटमा फसेका छन्। उनीहरूले तत्काल विद्युत आपूर्तिको नियमितता र गुणस्तरीय सेवाको माग गरेका छन्।
विद्युत आपूर्तिमा अवरोध आउँदा सार्वसाधरणले गर्मीको समस्या खेपिरहेका छन्। सिरहाकी सारदा चौधरीले गर्मी मौसममा दैनिक बिजुली आउने जाने कारणले अत्यधिक गर्मी खेप्नु परेको सुनाउँछिन्। ‘गर्मी धेरै छ, दिनभर बिजुली जाने आउने हुन्छ,’ उनले भनिन्, ‘बिजुली नहुँदा पंखा चलाउन पाइँदैन गर्मी धेरै हुन्छ।’
एनइएका अनुसार मस्र्याङ्डी करिडोर प्रसारण लाइन, पथलैया प्रसारण लाइन, हेटौंडा–ढल्केबर प्रसारण लाइन आदिमा कन्जेसन छ।
नेपाल प्रहरीको तथ्यांकले कारेन्ट लागेर चालू आर्थिक वर्षको चैत्रसम्ममा २५८ जनाको मृत्यु भएको देखाउँछ। यही अवाधिमा १८ जना करेन्ट लागेर घाइते भएका छन्।
एनइएका अनुसार मस्र्याङ्डी करिडोर प्रसारण लाइन, पथलैया प्रसारण लाइन, हेटौंडा–ढल्केबर प्रसारण लाइन आदिमा कन्जेसन छ। यसले गर्दा केही हाइड्रोपावरमा कन्टिन्जेन्सी छ। आर्थत उत्पादन भएको विद्युत खेर गइरहेको छ।
एनइएका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले यी प्रसारण लाइनबाट विद्युत प्रवाह गर्ने उत्पादनकर्ताले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्दा जानकारी भएको बताए । ‘विद्युत उत्पादनकर्ताले प्रसारण लाइन नहुँदा विद्युत कटौती गर्न कन्टिन्जेन्सी गर्न तयार भएर पीपीए गरेका छन्,’ उनले भने।
शाक्यले हरेक वर्ष ८ देखि १० मेवा विद्युत खपत वृद्धि भइरहेको बताए। ‘प्रसारण र वितरण लाइन पनि त्यहीअनुसार सुदृढीकरण हुनुपथ्र्यो। तर त्यो हुन सकेको छैन। अहिले भएको प्रसारण प्रणालीले लोडलाई धान्न सक्ने अवस्थामा छैन,’ शाक्यले भने, ‘यसलाई सुदृढीकरण गर्नुपर्ने छ। तराई क्षेत्रमा गर्मी महिनामा हावाहुरीका कारणले ट्रिपिङ पहिलादेखि हुँदै आएको छ।’

विद्युत क्षेत्रमा प्रणालीगत समस्या रहेको ऊर्जा विज्ञहरूले औँल्याएका छन्। प्रणालीगत समस्यालाई समाधान नगर्दासम्म नेतृत्व फेरिए पनि समस्या उही रहने एनइएका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन्। उनका अनुसार, ऊर्जा क्षेत्रका समस्याहरू मान्छेले रातारात परिवर्तन गर्न सक्ने विषय होइनन्। यो प्रणालीको समस्या हो र प्रणाली विकास गर्न समय लाग्छ।
‘मान्छे त कुर्सीमा फेरिनेबित्तिकै धेरै कुरा परिवर्तन हुँदैन किनभने प्रणाली विकास गर्नु पर्यो,’ उनले भने, ‘तर त्यसो भन्दैमा केही हुँदै नहुने भन्ने पनि होइन। हिजोको नेतृत्वले गरेको कमजोरी सच्याउने काम आजको नेतृत्वको हो। हिजोलाई दोष दिएर मात्र आज उम्किन पाइँदैन।’
उनले विद्युत उत्पादन बढे पनि त्यसलाई वितरण गर्न सक्ने प्रसारण लाइनको अभाव मुख्य समस्या रहेको औँल्याएका छन्। ‘योबीचमा त कुनै खास ठूला पूर्वाधार बनेनन्,’ उनले भने, ‘समस्या अझ बल्झिँदै जाने देख्छु।’
यसका लागि तत्काल कार्य योजना बनाएर पूर्वाधारमा लगानी गर्नुका साथै अन्य विकल्प खोज्दै जानुपर्नेमा उनले जोड दिएका छन्। अहिले एनइएले धेरै जसो आयोजनालाई कन्टिजेन्सीमा राखेको छ भने अत्यधिक विद्युत खपत गर्ने उद्योगलाई लोडसेडिङमा राखेको छ।
‘फेरि निर्यातको नाटक पनि गरिरहेको छ। प्राधिकरणको यो कस्तो तरिका हो? हामीले बुझ्न सकेनौँ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘निर्यात पनि भनिएको छ। बिजुली खेल पनि गइरहेको छ। उद्योग तथा व्यवसाय गर्नेले पाइरहेका पनि छैनन्।’