काठमाडौं। तराई÷मधेसको टेको मानिने चुरे वन दिनप्रतिदिन नासिँदै गएको छ। चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यसहित राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति २०७१ असार २ मा स्थापना गरिएको थियो।
तर, समिति स्थापना गरिएपछि पनि चुरे क्षेत्र झन्–झन् साँघुरिँदै जाँदा तराईमा खानेपानीका मुहान सुक्दै गएका छन् भने वन विनास झनै बढेको छ। कमलो भूबनोट, बाक्लो बसाइँसराइ, जलवायुजन्य जोखिम, आगलागीलगायत कारणले पछिल्लो समय चुरे विनास हुने क्रम बढ्दै गएको हो।
स्थापना भएयता समितिले हालसम्म १ हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको तथ्यांक बाहिर ल्याएको छ।
त्यस्तै ५ हजार २३० हेक्टरमा हरियाली प्रवर्द्धन कार्यक्रम र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख छ।
हालसम्म नदी/खोला किनारामा ४१२ किमि तटबन्ध निर्माण, १६२ हेक्टर हरितपेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण÷पुनःनिर्माण, ६२८ वर्षातको पानी संकलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरिएको छ।
समिति स्थापना भएयत अवधिमा चुरे संरक्षणका नाममा झन्डै रु १५ अर्ब खर्च भइसकेको छ। समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ।
समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ। समितिमा मासिक तलब सुविधा प्राप्त गर्ने ६ पदाधिकारीसहित १२४ कर्मचारी दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति हुन सकेको छैन।
ललितपुरमा मुख्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाइ स्थापना गरी काम गर्दै आएको छ। चुरे क्षेत्र सातै प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापना दिवस अवसर पारेर ११औंं चुरे संरक्षण दिवस मनाउँदै छ। समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवरपरासीको कावासोतीमा मुख्य कार्यक्रम आयोजना गरेको समिति कार्यक्रम कार्यान्वयन इकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिए।