काठमाडौं। आयुर्वेद र योगा पर्यटनलाई ध्यानमा राख्दै चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा ‘जंगल महल वेलनेस रिसोर्ट’ सञ्चालनमा आएको छ। समाजशास्त्री डा. दिनेश प्रसाईंले १६ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न वेलनेस रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
करिब १५ वर्षदेखि पोखरामा जल महल होटल सञ्चालन गर्दै आएका प्रसाईंले पोखरा र काठमाडौंलाई जोड्ने प्रोपर्टीको रुपमा ‘जंगल महल वेलनेस रिसोर्ट’लाई लिइएको जानकारी दिए। ‘पोखरामा होटल चलाइरहँदा काठमाडौंमा छैन भनेर धेरै विदेशीले सोध्ने गरेका थिए,’ सञ्चालक प्रसाईंले भने, ‘त्यसैको जवाफ दिन केही पृथक रिसोर्ट खोल्ने ध्यानमा भौतारिँदा वेलनेस रिसोर्ट बन्यो।’

मातातीर्थको सबैभन्दा माथिल्लो भाग र चन्द्रागिरिको बीचमा रहेको जंगलभित्र रिसोर्ट सञ्चालनमा ल्याइएको हो। जग्गासहित ७० करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न रिसोर्ट पाँच वर्षअघि (२०२०) देखि नै निर्माण सुरु भएको थियो। १६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट कोभिड १९ र त्यसपछि जारी आर्थिक मन्दीका कारण निर्माण सम्पन्न हुन ढिलाइ भएको सञ्चालक प्रसाईंको भनाइ छ।
नेपालसहित विश्व पर्यटन बजारमा पछिल्लो समय आयुर्वेद र योगा पर्यटनलाई पछ्याइरहेको अवस्थामा आफूले पनि त्यही ट्रेन्डलाई फलो गर्दै वेलनेस रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए। वेलनेस रिसोर्ट काठमाडौंभित्रको सबैभन्दा बढी जंगल भएको दाबी उनको छ।
‘निजी क्षेत्रबाट सञ्चालनमा आएको रिसोर्टमा सबैभन्दा बढी जंगल र जडीबुटी भएको यही रिसोर्ट हो,’ सञ्चालक प्रसाईंले भने, ‘यो रिसोर्ट पूर्ण रुपमा शाकाहारी हो। ध्यान र योगालाई प्राथमिकतामा राखेका छौं।’

रिसोर्ट रहेको क्षेत्रमा विभिन्न थरीका चराचुरुंगी र जंगली जनावरसमेत रहेको बताइन्छ। ‘प्रकृतिप्रेमीका लागि बसाइँ र योगाका निम्ति सबैभन्दा उत्तम गन्तव्य बनाउने मेरो अभियान हो,’ सञ्चालक प्रसाईंले भने, ‘यहाँ हर्बल गार्डेनको रुपमा समेत विस्तार हुँदै छ।’ रिसोर्टमा परम्परागत रुपमा आयुर्वेदिक तेल प्रयोग गरेर मसाज र थेरापी गरिन्छ। थेरापीका लागि आवश्यक तेल रिसोर्ट आफंैले उत्पादन गर्दै आएको छ।
आयुर्वेद र योगाविज्ञबाट प्रत्यक्ष निगरानी

रिसोर्टमा हुने आयुर्वेद माध्यमको उपचारका लागि १ जना पूर्णकालीन डाक्टर नै राखिएको छ। यस्तै, थेरापीलाई ध्यानमा राख्दै रिसोर्टले १ जना डाक्टर र ५ जना थेरापिस्टसमेत राखेको छ। १ जना पूर्णकालीन योगागुरुसमेत राखिएका छन्। उनीहरुले गर्ने उपचार विधि एवं योगाको पद्धतिलाई नियाल्न विभिन्न प्रोफेसर र विज्ञलाई समेत आबद्ध गराइएको छ।
‘अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गराउने सोचका साथ विज्ञलाई समेत मेरो अभियानमा समावेश गरेको छु,’ सञ्चालक प्रसाईंले भने, ‘विश्वका अन्य ठाउँको आयुर्वेदभन्दा नेपालको फरक बनाउन आयुर्वेद अध्ययन गर्दै आएका विद्यार्थीले समेत अध्ययन गरिरहेका छन्।‘ प्रोफेसर लेभलका २० भन्दा बढीले अध्ययन गरेर सुझाव दिएका छन्। २० वटा प्याकेज बनाइएको छ।
लोपोन्मुख जडीबुटी संरक्षण

रिसोर्टभित्र विभिन्न प्रजातिका जडीबुटीलाई संरक्षण गरिएको छ। सुत्केरी मसलामा प्रयोग हुनेदेखि घोटताप्लेसहितका विभिन्न जडीबुटी रिसोर्टमा रोपिएको छ। यस्तै, विभिन्न जातका फलफूलसहित काफलका रुखसमेत प्रशस्त मात्रामा पाइन्छन्।
चरा वासस्थान
रिसोर्ट वरपरका चराचुरुंगी धेरै पाइने भएकाले त्यसलाई संरक्षण हुने खाले रुखसमेत रोपिएको छ। यहाँ धेरै प्रोफेसरले अध्ययन गरेर रुखबिरुवा रोपिएको प्रसाईं बताउँछन्। उनले भने, ‘यहाँ मेरो मात्र हैन, धेरै प्रोफेसरको समेत योगदान छ। थानकोटदेखि मच्छेनारायणसम्मको बीचमा मात्र २५० भन्दा बढी प्रजातिका चरा पाइन्छन्।’
कोठा मात्र लिन पाइँदैन
रिसोर्टमा कोठा मात्र बुक गर्न भने पाइँदैन। रिसोर्टको मुख्य उद्देश्य वेलनेस रहेकाले त्यसका लागि आउने ग्राहकलाई मात्र कोठा दिइनेछ। ‘हामी कोठा र खाना मात्र बेच्दैनौं,’ सञ्चालक प्रसाईंले भने, ‘योगा र थेरापीका लागि आउनेलाई मात्र राख्छौं।’

थेरापीका लागि डे प्याकजेदेखि दुई रात, तीन दिनसम्मको प्याकेज बनाइएको छ। यो प्याकेज अवधि अझै लामो हुन्छ। कुनै पनि ग्राहकको माग र उपचारअनुसार समयावधि बढ्दै जाने उनको भनाइ छ। दैनिक प्याकेजमा सबैभन्दा सस्तो ५ हजारदेखि ८ हजार रुपैयाँसम्म प्रतिव्यक्ति राखिएको छ। यसमा प्याकेज हेरेर खाना र खाजा व्यवस्था हुन्छ। त्यस्तै, दुई रात, तीन दिन बस्न आउनेका लागि सिंगल कोठाको प्रतिव्यक्ति २८ हजार र कोठा साझेदार गरी एउटा मात्र बेड लिनेका लागि २२ हजार रुपैयाँ तोकिएको छ।
रिसोर्टमा दुई वटा बेडरुम र एउटा बेडरुम भएका कोठा छन्। कोठामा बस्नेलाई पूर्ण रुपमा प्राकृतिक आनन्द लिन टेलिभिजन राखिएको छैन। तीमध्ये केही कोठाबाट जंगल नियाल्न सकिन्छ भने केहीबाट हिमाललाई। यो प्याकेजमा तीन छाक खाना र ब्रेकफास्टको व्यवस्था गरिएको हुन्छ।

रिसोर्टमा ४६ वटा कोठा रहेका छन्। तीमध्ये ६ वटा आयुर्वेदका लागि प्रयोग भएका छन् भने अन्य कोठा ग्राहकलाई राखिएको छ। यस्तै योगा हल र स्वीमिङ पुल सञ्चालनमा छ।