काठमाडौं। किसानले चैते धानको उचित मूल्य नपाएको गुनासोपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीबीच आज वाणिज्य मन्त्रालयमा छलफल भएको छ।
छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो।
बैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण भारतबाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान,चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमतालगायतका विषयमा छलफल भएको छ।
दुई मन्त्रालयबीच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग प्रयाप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल ,चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने,खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थमन्त्रालयसँग बजेटलगायतका विषयमा पहल गर्ने निर्णय भएको छ।
बैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मूल्य पाउनका लागि सम्बन्धित निकायको पहल आवश्यक रहेकोमा जोड दिए। उद्योगमन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत वसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए।
सरकारले चैते धानको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल २८ सय ६९ पैसा तोके पनि झापालगायत पूर्व र पश्चिमका जिल्लाहरुमा किसानले १५ देखि १६ सय रुपैयामा बिक्री गर्नुपर्ने अवस्था आएको बताएका छन्। हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग बिक्रीका लागि रहेको अनुमान छ। पछिल्लो समय मात्र भारतबाट ३१अर्ब जतिको चामल आयत भएको छ।