काठमाडौं। पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा दुई जना र जुम्लामा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। जिप दुर्घटनामा एक जना सख्त घाइते भएका छन्।
सोमबार बेलुका पूर्वखोला गाउँपालिका–५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जप सडकबाट खसेको थियो।
दुर्घटनामा जिपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने विनोद ढुंगाना र स्याङ्जाको गल्याङ नगरपालिका–७ घर भई रुपन्देही मझुवामै बस्दै आएका रेशम सुनार रहेका छन्।
जिप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए। गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनील मल्लले बताए।
रेशमलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। अन्डा लोड गरेको जिप सडकदेखि ३०० मिटर तल खसेको थियो।
यस्तै, चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका गए राती चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
दुर्घटटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देवु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए।