काठमाडौं। प्लस टु सकाएर ब्याचलर कसरी पढ्ने भन्ने चिन्तामा हुनुहुन्छ? वा रोजगार नहुँदा पढ्ने पैसा छैन, पढ्ने इच्छा मारेर काम गर्न विदेश जान्छु भन्ने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने तपाईंको पढ्ने चाहनालाई साकार बनाउने उद्देश्यले सम्भवतः नेपालमै पहिलो पटक पढ्दै, कमाउने अवसर सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले दिन थालेको छ।
होटल तथा रिसोर्टमा ख्याति कमाएको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले रोजगार नभएकै कारण उच्चशिक्षा अध्ययनबाट वञ्चित विद्यार्थीलाई लक्षित गरी पढ्दै, कमाउने नारासहित ब्याचलर इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम) अध्ययन सुरु गरेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए।
लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा एक वर्षअघिबाट भैरहवामा रहेको पाँचतारे होटल सिद्धार्थ भिलासामा पहिलो वर्षको अध्ययनसमेत सुरु गरिसकेको छ। गत वर्षदेखि ३० जना विद्यार्थीले अध्ययन सुरु गरिसकेका छन्। पढ्दै गरेका विद्यार्थीमध्ये केहीले सोही होटलमा जागिर सुरु गरिसकेका छन्। तीमध्ये धेरैले आम्दानी गर्न थालिसकेका छन्। अहिले दोस्रो वर्षको कक्षा सुरु भइसकेको छ।
पहिलो वर्ष राम्रो भएपछि लुम्बिनी बौद्ध विश्वविद्यालयले भैरहवा कोटा थपेको छ। यस्तै नेपालगन्ज र नारायणघाटमा पनि अध्ययन सुरु गर्ने तयारीमा लागेको छ। विश्वविद्यालयले पहिलो चरणमा एक वर्षमा ४० जनाको कोटा निर्धारण गरेको छ।
यसमा होटलले अध्ययन गर्ने सबै विद्यार्थीलाई तालिम र काम गराउन सक्ने क्षमता बढाउन सके संख्या अझै थपिने जनाएको छ।
कति लाग्छ शुल्क
ब्याचलर अध्ययनका लागि गत वर्ष ७ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो। यो वर्ष केही बढ्ने बताइएको छ। ४ वर्षको कोर्षका लागि विद्यार्थीले यो रकम बुझाउनुपर्छ। तर, सिद्धार्थले आफू अध्ययन गरेका विद्यार्थीलाई आफ्नै होटलमा काम गर्ने अवसर दिएकाले पनि उनीहरुलाई यो रकमको भार नपर्ने बताएको छ।
बैंकसँग ऋणको प्रस्ताव
विद्यार्थीले दोस्रो वर्षदेखि आम्दानी सुरु गर्छन्। अर्थात्, अध्ययन गरेको एक वर्षपछिदेखि काम गर्न पाउँछन्। त्यहीँ एक वर्षपछिको आम्दानीलाई स्रोत बनाएर बैंकहरुले एजुकेसन लोन दिलाउने तयारी थालिएको छ।
विद्यार्थीले एक वर्षपछिबाट ऋण तिर्न सक्छन् भन्ने ग्यारेन्टी होटल बस्ने गरी आवश्यक तयारी गरिरहेको सीईओ न्यौपानेले जानकारी दिए। त्यसमा हरेक वर्षको शुल्क कति लाग्छ, त्यो रकम बैंकले विश्वविद्यालयमा तिरिदिने र बैंकलाई अर्को वर्ष तिर्ने गरी आवश्यक व्यवस्था मिलाउन लागिएको उनले बताए।
‘यो भनेको पढ्दै, कमाउँदै र आवश्यक ऋण पनि पाउने भए,’ सीर्ईओ न्यौपानेले भने, ‘बिनापैसा पनि यो खाले कोर्ष पढ्न पाउने हुन्छन्।’ ब्याचलर सकाउँदा ती विद्यार्थी पूर्ण रुपमा अनुभवी हुने र त्यसपछि राम्रो तलबमा जुनसुकै होटलले पनि लिन सक्छन्। ‘हामीलाई पनि धेरै योग्य व्यक्ति चाहिरहेको हुन्छ,’ सीईओ न्यौपानेले भने, ‘राम्रो तलबमा राख्छौं। अरुले पनि राखिहाल्छन्।’
दक्ष जनशक्ति उत्पादनमा सहज
अहिले होटल तथा रिसोर्टमा दक्ष जनशक्ति अभाव भइरहेको छ। धेरै युवा बिदेसिने क्रम बढेको र भएकाको पनि क्षमता नहुँदा कामदार अभाव बेहोरिरहेका बेला सिद्धार्थ ग्रुपले बीएचटीएमको पढाइ सुरु गर्दा धेरै होटललाई सहज हुने व्यवसायीको बुझाइ छ। दक्ष नहुँदा युवाले पनि राम्रो तलब नपाउने अवस्था छ।