काठमाडौं। त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ।
स्कटल्यान्डको टिटउट रंगशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए। साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए। साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक÷एक विकेट लिए।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए। साथै ललितनारायण राजवंशीले एक विकेट लिए।
करण केसीले यही खेलमार्फत टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। उनी यो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्। यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन्।
खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भए। नेपालको जितका लागि एक रन चाहिएको अवस्था उनी क्रिजमा गएर एक रन बनाएसँगै नेपालले जित आफ्नो पक्षमा पारेको हो।