तनहुँ। जिल्लाका किसान चैते धान भित्र्याउने चटारोमा छन्। दुई समय धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ। तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ।
जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ। जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ। व्यास, भानु, भीमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ।
तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लाका कुल ९ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको केन्द्रले जनाएको छ।
केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले भने, ‘मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन्। चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो हुन्छ। जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याइ–नभ्याई छ।’
मनसुन सुरु हुनासाथ बर्खेधान मात्रै हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको उनले बताए। तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ।
अधिकृत परियारका अनुसार उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०÷८१ मा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिक टन चैते धान उत्पादन भएको जनाएको छ।
चैते धान प्रवर्द्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले बताएको छ। थन्क्याउने कार्य चलिरहेकाले चालू आर्थिक वर्षको तथ्यांक आउन बाँकी रहेको उनको भनाइ छ। उनले भने, ‘सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइ व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।’
भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडे फाँट, सिसाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दी फाँट, भिमादको बुडुवाफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धान खेती हुने गरेको छ।
चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ।–रासस