काभ्रे। जिल्लाको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्यांकले देखाएको छ। मागअनुसार उपलब्ध नहुँदा जिल्लाका कृषकले बर्सेनि रासायनिक मल अभाव झेल्दै आउनुपरेको छ। खाद्यान्न र तरकारीका लागि ख्याति कमाएका यहाँका कृषकले यस वर्ष पनि रासायनिक मल अभाव भोग्न बाध्य भएका छन्।
कृषकले यतिबेला मकैलगायतको खाद्यान्न तथा सागसब्जीका लागि आवश्यक पर्ने रासायनिक मल नपाउँदा कृषक मर्कामा परेका छन्। मकै बालीका लागि युरिया मल माग बढी गरिरहेको बेला सरकारले कृषकको चाहेअनुसार युरिया मल उपलब्ध गराउन सकेको छैन। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनले सहकारीमार्फत कृषकका लागि कोटा प्रणालीमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त देखिँदैन।
कृषि सामग्री कम्पनी धुलिखेलका प्रमुख योगेन्द्रकुमार पराजुलीका अनुसार संस्थामा कृषकले तत्काललाई मकैलगायतका बालीका लागि युरिया मल माग धेरै गरेकोले माग पूरा गराउन सक्ने अवस्था छैन। ‘प्रदेश सरकारले पाउने रासायनिक मलको कोटाबाट काभ्रेले १७ दशमलव पाँच प्रतिशत मात्रै पाइन्छ। हरेक वर्ष कार्यालयले कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन र र यस वर्ष पनि सकिँदैन’, उनले भने।
काभ्रे नेपालमै सबैभन्दा बढी रासायनिक मल खपत गर्ने जिल्लाका रुपमा रहेको जनाउँदै कार्यालय प्रमुख पराजुलीले कोटा प्रणाली लागू गर्दा त्यसको मूल्यांकन नगरी कम कोटा निर्धारण गरिएकाले बर्सेनि यस्तो झेल्दै आउनुपरेको बताउँछन्।
उनका अनुसार चालू आर्थिक वर्षका लागि कार्यालयले आठ हजार ८०० मेट्रिक टन युरिया, ६ हजार ५० मेट्रिक टन डिएपी र ४४० मेट्रिक टन पोटास मल गरी कुल १३ हजार ९०० मेट्रिक टन मलको कार्यक्रम पेस गरे पनि केन्द्रबाट ९ हजार मेट्रिक टन मात्रै स्वीकृत गरेको बताए।
साल्ट ट्रेडिङ कर्पोरेसन बनेपाका शाखा प्रमुख ईश्वर आचार्यले भने कार्यालयमा युरिया मलको अत्यधिक माग रहेको जानकारी दिए। उनका अनुसार हालका दिनमा दैनिक २० भन्दा बढी सहकारी संस्थाले युरिया मल माग धेरै गर्छन्। संस्थाबाट पाँच सयभन्दा बढी सहकारीलाई युरिया मल जति दिए पनि लैजान सक्ने अवस्था रहेको उनको भनाइ छ।
कृषकले एक हजार मूल्य पर्ने युरिया मल बिचौलियासँग दुई हजार ३०० देखि रु दुई हजार ५०० सम्म तिरेर मल किन्न बाध्य भएको बताइएको छ।