बागलुङ। ‘हाइब्रिड’ बीउ बिजनले कृषि क्षेत्रका पुराना जात लोपजस्तै भएका छन्। रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन्। यसै सन्दर्भमा बागलुङ नगरपालिका १३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ।
किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो। वडा कार्य समितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो।
आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी एक हजार अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए। वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो।
आगामी मंसिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकार दिए। ‘तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ,’ पौडेलले भने, ‘वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ।’
एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्ने छ। लोपोन्मुख धान भएकाले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनको भनाइ थियो। पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार विनियोजन गरेको हो।
यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन्। हाइब्रिडले रैथानेको बीउ मासिन सक्ने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो।