काठमाडौं। गए रातीको वर्षापछि रोशी खोलामा आएको बाढीमा जेसिबी र टिपरसहित फसेका पाँच जनाको उद्धार गरिएको छ। नमोबुद्ध नगरपालिका–५ लासकोटस्थित रोशी खोलामा गए राती ९ बजे पानीको बहाव एक्कासि बढेपछि जेसीबी र टिपरसहित ५ जना खोलाको बीचमा फसेका थिए।
बाढीमा फसेका ५ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीमा फसेका ठेकेदार काभ्रे तेमाल गाउँपालिका–५ का सञ्जय लामा, जेसीबी चालक दोलखा भीमेश्वर नगरपालिका–९ का समिर तामाङ, टिपर चालक तेमाल गाउँपालिका–९ का वर्षका रेमन तामाङ, टिपर सहचालक नमोबुद्ध नगरपालिका–५ का वर्षका मुस्कान तामाङ र लेबर काम गर्ने ओखलढुंगा दुधकोशी गाउँपालिका–४ का सागर राईको उद्धार गरिएको हो।
खोलामा फसेको जेसीबी र टिपर निकाल्न सकिएको छैन ।
पहिरोले कालीगण्डकी करिडोर ठप्प
बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालीण्डकी करिडोर अवरुद्ध भएको छ। बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो। सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ।
करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गंगाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारीसाधनसमेत बाटोमै थन्किएका छन्। कालोपत्रे गर्ने काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर भत्काएको छ।
कालोपत्रेको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहे पनि सडक खुल्न केही समय लाग्ने प्रहरी सहायक निरीक्षक विकले बताए।