काठमाडौं। भारतको प्रमुख पर्यटकीय स्थलमध्येको जम्मु‑कस्मिरमा वैशाखमा भएको आतंकवादी आक्रमणपछि अहिले पर्यटकीय गतिविधि ठप्प छ। केही समय अघिसम्म साे क्षेत्रमा भारत र पाकिस्तानबीच युद्धनै भएको थियो। जुन अहिले साम्य भएको छ।
प्रमुख पर्यटकीय गन्तव्यमै युद्ध भएपछि जम्मु‑कस्मिरमा जाने पर्यटकहरु अहिले नेपालमा सिफ्ट हुन थालेका छन्। खासगरी गर्मी महिनामा चिसो खोज्दै धेरै पर्यटकहरु कस्मिर क्षेत्रमा पुग्ने गरेका थिए। तर, पछिल्लो घटनाबाट त्रसित बनेका भारतीयहरुले गर्मी छल्ने उपयुक्त गन्तव्यको रुपमा नेपाललाई लिन थालेका छन्। जसको कारण अहिले नेपालमा रहेका तराई जोड्ने ठाउँमा सञ्चालित होटल तथा रिसोर्टहरु भारतीय पर्यटकले भरिन थालेको छ।
भारतमा भन्दा नेपालमा गर्मी कम हुने भएपछि गर्मी छल्न आउने भारतीय पर्यटकहरुको कारण काठमाडौं बाहिरका होटल तथा रिसोर्टहरु भरिन थालेका हुन्।
सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्ण न्यौपानेले भारतीय पर्यटकहरुको आगमनमा वृद्धि भएको जानकारी दिए। ‘निजी गाडी लिएर आउने भारतीयहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ,’ सीईओ न्यौपानेले भने,‘काठमाडौं बाहिर तराई जोडिएका ठाउँमा रहेका होटल तथा रिसोर्टहरु भरिएका छन्, व्यवसायीहरुका लागि सुखद पक्ष हो।’
प्रमुख पर्यटकीय गन्तव्यमै युद्ध भएपछि जम्मु‑कस्मिरमा जाने पर्यटकहरु अहिले नेपालमा सिफ्ट हुन थालेका छन्।
सामान्यतया यो सिजनमा विदेशी पर्यटकहरु नेपालमा कमै मात्रामा आउने गरेका छन्। असारदेखि भदौंसम्मलाई अफ सिजनको रुपमा लिँदै आइरहेको बेला गर्मी छल्न आउने भारतीय पर्यटकहरुको संख्यामा वृद्धि हुनुलाई सकरात्मक रुपमा लिएको व्यवसायीहरुको भनाइ छ।
चितवनको सौराहामा सञ्चालित जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले गर्मी मौसम सुरु भएसँगै भारतीय पर्यटकहरुको संख्यामा केही वृद्धि भएको जानकारी दिए। ‘भारतको तुलनामा नेपालमा गर्मी कम हुने भएकोले धेरै पर्यटकहरु अहिले घुम्न आएका छन्,’ कार्यकारी निर्देशक घिमिरेले भने ‘बाटो राम्रो नहुँदा विगतको तुलनामा अझै केही घटेका छन्, पूर्वधार राम्रो हुने थियो भने धेरै भारतीयहरु यो सिजनमा नेपाल आउने थिए।’
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यलय प्रमुख मणिराज लामिछानेले गर्मी छल्न आउने भारतीयहरुको संख्या बढेको जानकारी दिए। भारतको तुलनामा नेपालमा चिसो पनि रहेको कारणले बिदा मनाउन धेरै भारतीयहरु नेपाल आउन थालेको उनको भनाइ छ।
पर्यटन बोर्डले लामो समयदेखि भारतमा गर्मी ‘से बेहाल, चलो नेपाल’ भन्ने अभियाननै चलाएको र पोखरेली व्यवसायीहरुले ‘चलिये’ पोखरा अभियान सञ्चालन गरेको प्रभाव अहिले परिरहेको उनले बताए। योसँगै कस्मिरमा भएको आक्रमणपछि त्यस क्षेत्रमा जाने पर्यटकहरु नेपाल सिफ्ट भएको उनको भनाइ छ।
‘भारतमा गर्मी मौसममा विद्यालयहरु पनि बन्द हुने भएकोले परिवारसहित घुम्न आउनेहरुको क्रम बढेको छ,’ वरिष्ठ निर्देशक लामिछानेले भने, ‘अहिले पोखरासहित मनाङ, मुस्ताङलगायतका क्षेत्रका होटलहरु समेत भारतीयले नै भरिभराउ भइरहेको छ।’
काठमाडौंका होटल ३० प्रतिशत पनि अकुपेन्सी नभइरहेको बेला तराई जोडिएका क्षेत्रमा सञ्चालित होटलहरुको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी रहेको व्यवसायीहरुको भनाइ छ।