काठमाडौं । कोराेना भाइरसले उद्योग व्यवसायमा गम्भीर असर गरेको भन्दै निजी क्षेत्रले सरकारसंग वृहत राहतको प्याकेज ल्याउन माग गरेको छ ।
निजी क्षेत्रका प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर राहतको प्याकेज ल्याउन सुझाएको हो ।
कोराेनाका कारण उद्योग व्यवसाय विशेष गरी पर्यटन क्षेत्रलाई ठुलो असर गरेको बताउँदै व्यवसायीले यसलाई बचाउन पुनर्कर्जाको व्यवस्था गर्न माग गरेको हो ।
समस्याग्रस्त व्यवसायीले मागेमा सहज रुपमा बैंकबाट पुनरकर्जाको सुविधा उपलब्ध गराउन सुझाएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।
यस्तै समयमा कर्जा असुली नभए पनि केही समयका लागि प्रोभिजनिङ्गको व्यवस्था नगर्न सुझाएको गोल्छाले जानकारी दिए । उनले कोराेनाका कारण उद्योग व्यवसायमा देखिएको समस्याको समधान गर्न लिखित सुझाव दिएको बताए ।
उद्योग व्यवसाय बचाउन सरकारले वृहत प्याकेज ल्याउन जरुरी भएको भन्दै अर्थमन्त्री खतिवडाको ध्यानकर्षण गराएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा तिर्नुपर्ने करको समय थप्न पनि व्यवसायीले अर्थमन्त्री खतिवडालाई अनुरोध गरेका छन । व्यवसायीले तत्काल कर तिर्न नसक्ने भन्दै समय थप्न माग गरेका हुन । व्यवसायीले कर्जाको ब्याजदरको माथिल्लो सीमा तोक्न माग गरेका छन ।
व्यवसायीको सुझावलाई लिंदै अर्थमन्त्री खतिवडाले कोरनाले पार्ने असरको विषयमा सरकारले अध्ययन गरिरहेको बताएका थिए । उनले आवश्यक परे राहतको प्याकेज ल्याउने जानकारी गराएका थिए । अर्थमन्त्रीले कोरनाले अर्थतन्त्रमा असर गर्ने संभावना देखिएको बताएका थिए ।
कोराेनाको असर तत्काल नदेखिएको बताउदै अर्थमन्त्री खतिवडाले आवश्यक परेमा सरकाले राहतको योजना ल्याउने जानकारी गराएको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिए ।
महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, होटल एसोसियसनकी अध्यक्ष सिर्जना राणा र नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवनकुमार दाहालको सहभागगिता थियो ।