काठमाडौं। दूरसञ्चार प्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र एनसेल नेपालको तथ्यांकअनुसार नेपालको मोबाइल नेटवर्क भित्र ई-सिम प्रयोगकर्ताको संख्या तीन लाख ७६ हजार बढी पुगेका छ।
जसमा नेपाल टेलिकमका ई-सिम प्रयोगकर्ता दुई लाख २६ हजार ४०० बढी पुगेको टेलिकमले जनाएको भने एक लाख ५० हजार बढी ई-सिम प्रयोग कर्ता पुगेको एनसेलले जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको चालू आर्थिक वर्ष वैशाखसम्मको एमआईएस रिपोर्टअनुसार दुई कम्पनीका मोबाइल सेवातर्फ दुई करोड ६२ लाख ५२ हजार १७६ प्रयोगकर्ता रहेका छन्।
रिपोर्टअनुसार दुई कम्पनीले दिने सबै खाले सेवाहरूमा भने जम्मा दुई करोड ९१ लाख ६४ हजार ५७८ प्रयोगकर्ता छन्। जसमा फिक्स्ड ब्रडब्यान्ड (वायर्ड) प्रयोगकर्ता ३१ लाख २ हजार ८२३ र स्थिर ब्रोडब्यान्ड (वायरलेस) २९ हजार ५२७ प्रयोगकर्ता छन्।
दुई कम्पनी मात्रै रहेको नेपाली टेलिकम बजारमा समग्र बजारको ५२ दशमलव २९ प्रतिशत हिस्सा नेपाल टेलिकमले ओगटेको छ। एनसेलको ४७ दशमलव ७९७ प्रतिशत रहेको छ।
प्रतिवेदनअनुसार पछिल्लो एक महिनमा मात्रै एनसेलले शून्य दशमलव २७३ प्रतिशतले बजार हिस्सा गुमाएको छ। गत चैतमा यस्तो हिस्सा टेलिकमको ५१ दशमलव ९२६ थियो। एनसेलको ४८ दशमलव ०७० प्रतिशत रहेको थियो।
मोबाइल ब्रडब्यान्ड सेवाको बजार (सिम प्रयोगकर्तामा आधारित) तर्फ ५५ दशमलव २२ प्रतिशत हिस्सा नेपाल टेलिकमको छ भने ४४.७८ प्रतिशत हिस्सा एनसेलको छ।
गत चैतमा यस्तो हिस्सा नेपाल टेलिकमको ५४ दशमलव ५८ प्रतिशत र एनसेलको ४५ दशमलव ४२ प्रतिशत रहेको थियो। अर्थात एनसेलले मोबाइल ब्रडब्यान्ड तर्फ पनि शून्य दशमलव ६४ प्रतिशत बजार गुमाएको छ।