म्याग्दी। मालिका गाउँपालिका ६ डाँडागाउँमा पाखो सम्माएर हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ।
५५ लाख ६५ हजार ५५५ को लागतमा भवन र खेलमैदान निर्माण भएको हो। सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी समुदायस्तरबाट सहयोग र श्रमदान जुटाएर खेलमैदान र भवन निर्माण गरिएको क्लबका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिए।
'खेल मैदान र भवन निर्माण भएको ठाउँ यसअघि भिरालो पाखा थियो,' उनले भने, 'डोजर लगाएर करिब ६० मिटर जमिन खारेर डिलमा पर्खाल बनाएर सम्माइएको हो।'
६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइ भएको खेल मैदान निर्माण भएको हो। खेलमैदानको परिसरमा दुई कोठे भवन, ‘स्टेज’ र सार्वजनिक शौचालयसहितको भवन निर्माण भएको छ।
डाँडागाउँमा यसअघि खेलमैदान नहुँदा खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो। सामुदायिक भवनमा भेला, बैठक, तालिम, गोष्ठी, सभा, समारोह र भोजभतेर सञ्चालन गर्न सहज भएको छ। क्लबले १५ वर्षअघि सुरु गरेको खेल मैदान निर्माण कार्यले अहिले पूर्णता पाएको हो।
मालिका गाउँपालिकाबाट १७ लाख र गण्डकी प्रदेश सरकारबाट १२ लाख सहयोग प्राप्त भएको खेलमैदान र भवन निर्माणका लागि हिमाली युवा क्लबले चार लाख ७६ हजार बराबरको श्रमदान र फूलपाती आमा समूहले तीन लाख नगद सहयोग गरेका छन्।
सुवास गर्बुजा, सविन पुन, रविन पुन, डाइमण्ड जुग्जाली, अमृत जुग्जाली, इन्द्र पुन, चकबहादुर पाइजा, सुरज जुग्जाली, चित्र पाईजा, गमबहादुर जुग्जाली, मन्दीप/सन्दीप/रघु जुग्जाली र लकमन पुनले एक/एक लाख सहयोग गरेको क्लबका सचिव रोहन जुग्जालीले जानकारी दिए।
रत्नसिंह गर्बुजाले ५५ हजार ५५५, माइकल पाइजा, सुर्ज/रेशम जुग्जाली, तिर्थमान/सज्जन जुग्जाली, नारायण जुग्जाली, रुविन जुग्जाली, जीवन पुनले ५०/५० हजार, कर्ण जुग्जालीले ३१ हजार, प्रवीन रानाले ३१ हजार, खिमबहादुर जुग्जालीले १७ हजार र रमेश पाईजाले पाँच हजार सहयोग गरेको क्लबले जनाएको छ।
खेलमैदानको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र भवनको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बुधबार उद्घाटन गरे।
कार्यक्रममा सांसद जुग्जालीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकासले तीव्रता पाए पनि जनसङ्ख्या घट्नु र बसाइँसराइ बढ्नु चुनौती बनेकोमा चिन्ता व्यक्त गर्दै पर्यटन र कृषिमा आधारित उद्यम, व्यवसायमा लाग्न सुझाव दिए।
भवन र खेल मैदान उद्घाटनका साथै नयाँ वर्षको अवसरमा क्लबका संस्थापक कासिराम जुग्जाली स्मृति प्रथम कप आयोजना गरिएको छ। भलिबल, फुटसललगायतका प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ। शुभारम्भ कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो।