काठमाडौं। रेष्टुरेन्टलाई बियर उत्पादन गरी बिक्री गर्न दिने उद्देश्यका साथ माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने तयारी थालेको वर्षौं भइसक्यो। २०७२ सालमा उद्योग मन्त्री रहेका महेश बस्नेतले माइक्रो ब्रुअरी सञ्चालनका लागि लाइसेन्स दिने निर्णय गरेका थिए।
पछि उद्योग मन्त्री लेखराज भट्टले २०७७ मा माइक्रो ब्रुअरीको आवश्यक मापदण्ड बनाउने निर्णय गरेको तीन वर्षपछि अर्थात २०८० फागुनमा माइक्रो ब्रुअरी सञ्चालनको मापदण्डसमेत बन्यो। तर, मापदण्ड बनेको दुई वर्ष हुन लाग्दा उद्योग विभागले लाइसेन्स जारी गर्न सकेको छैन। ‘मापदण्ड तयार भइसक्दा लाइसेन्स वितरण नहुनु भनेको गम्भिर विषय हो,’ एक उद्योगीले भने, ‘ठूला बियर उत्पादकहरुले प्रभावमा पारेर निर्णय गर्न दिँदैनन्।’
हालका उद्योग मन्त्री दामोदर भण्डारीले पनि माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने विषयमा चासो नराखेका हैनन्। पटक–पटक उद्योग विभागका महानिर्देशकलाई माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने विषयमा छलफल गरे पनि हालसम्म कुनै निर्णय गराउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने विषयमा सामान्य छलफल भएको बताए।
‘मन्त्रालयमा सामान्य छलफल भएको छ,’ प्रवक्ता बस्नेतले भने, ‘उद्योग विभागमार्फत औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डमा प्रस्ताव आउनुपर्छ, त्यहाँ आएको प्रस्तावपछि निर्णय हुन्छ।’ पछिल्लो पटक लामो समयदेखि बोर्डको बैंठक बस्न सकेको छैन। उद्योग मन्त्रीहरू बस्नेत, भट्ट र भण्डारीले माइक्रो ब्रुअरी सञ्चालनको अध्ययन गर्न कमिटी बनाएर सुझाव लिए पनि हालसम्म ठोस निर्णय भने गर्न सकेको छैन।
उद्योग मन्त्रीको ग्रिन सिंग्नल
उद्योग मन्त्री भण्डारीले माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने विषयमा ग्रिन सिंग्नल दिएका छन्। उद्योग मन्त्री भण्डारीले निकटका एक उच्च अधिकारीका अनुसार अब बस्ने बोर्डको बैठकमा माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने प्रस्ताव ल्याउन उद्योग विभागका महानिर्देशक राजेश्वरी ज्ञवालीलाई निर्देशनसमेत दिइसकेका छन्।
सिमित व्यक्तिलाई नभई मापदण्ड पुगेका सबै रेष्टुरेन्टलाई लाइसेन्स दिने गरी खुला गर्न उद्योग मन्त्री तयार रहेको श्रोतको दाबी छ। उद्योग विभागका महानिर्देशक ज्ञवाली पनि लाइसेन्स खुला गर्दा सिमित मात्र नगरी मागेका जति सबैलाई दिने पक्षमा रहेको बताइन्छ।
तयारी बियरभन्दा सस्तो हुन्छ
माइक्रो ब्रुअरीको लाइसेन्स पाएर रेष्टुरेन्ट वा होटलले बियर उत्पादन गर्न सके तयारभन्दा धेरै सस्तो पर्छ। यद्यपि, नेपालमा माइक्रो ब्रअरीमार्फत उत्पादन भएका बियर कतिमा बिक्री गर्ने र अन्तःशुल्क कति लिने भन्ने टुंगो लागिसकेको छैन। छिमेकी मुलुक भारतमा तयारभन्दा माइक्रो ब्रुअरीको बियर धेरै सस्तोमा पाइन्छ। भारतको बैंग्लोर र गोवामा प्रतिलिटर भारतीय २० देखि ३० रुपैयाँमा पाइन्छ।
पर्यटन क्षेत्रमा ठूलो फाइदा
माइक्रो ब्रुअरी सञ्चालनमा ल्याउन सके होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ठूलो फाइदा हुने व्यवसायीहरुको भनाइ छ। नेपाली र भारतीयहरु बियर पारखी हुने भएकाले अहिलेको तुलनामा अझ व्यापार बढ्ने विश्वास व्यवसायीहरुको छ।
यस्तै, सरकारलाई पनि अर्बौं अन्तःशुल्क बापत रकम आउने भएकाले माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउन ढिला गर्न नहुने व्यवसायीहरुको भनाइ छ।
अदालतको परमादेश नमान्ने सरकार
माइक्रो ब्रअरी सञ्चालनका लागि अनुमति दिन उच्च अदालत पाटनले २०७९ असारमा सरकारलाई तत्कालै लाइसेन्स दिन परमादेश दिए पनि हालसम्म कार्यन्वयनमा आउन सकेको छैन। उद्योग विभागले लगानी प्रवर्द्धन बोर्डमा माइक्रो ब्रुअरीको लाइसेन्स दिने विषयमा प्रस्ताव नलगेकाले निर्णय हुन नसकेको व्यवसायीहरुको भनाइ छ। ठूला बियर उद्योगको प्रभावमा परेर उद्योग विभागले हालसम्म लगानी प्रवर्द्धन बोर्डमा प्रस्ताव नलगेको हुन सक्ने रेष्टुरेन्ट व्यवसायीहरुको भनाइ छ।
यस्तो छ मापदण्ड
माइक्रो ब्रुअरी भन्नाले एउटा रेष्टुरेन्टको अभिन्न अंगको रुपमा वार्षिक २ हजार ५०० हेक्टो लिटरभन्दा कम बियर उत्पादन गरी उत्पादन स्थलमै बिक्री वितरण गर्ने ब्रुअरी हो। यस्तो माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्टको क्षमता एउटा मात्र भएको हकमा न्यूनतम २० सीट क्षमता हुनुपर्ने छ।
यस्तो माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्टले सम्बन्धित निकायबाट मदिरा बिक्री सम्बन्धी इजाजत लिनुपर्छ। माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट पर्यटनमूलक उद्योगको वर्गीकरणमा दर्ता हुनेछ।
दुई लाख धरौटी र दुई वर्षभित्र उत्पादन
माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट स्थापनाको अनुमति प्रदान गर्दा दुई लाख रुपैयाँ धरौटीबापत जम्मा गर्नुपर्ने र अनुमति लिएको ९० दिनभित्र उद्योग दर्ताको लागि आवेदन दिनुपर्छ।
यस्तै, माइक्रो ब्रुअरीको अनुमति लिएको दुई वर्षभित्र उत्पादन गर्नुपर्छ। माइक्रो ब्रुअरीमा विदेशी लगानी ल्याउन पाइने छैन।