काठमाडौं। होटल संघ नेपालको प्रतिनिधि मण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बधाई ज्ञापन गर्दै सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि बजेटबाट घोषित कार्यक्रमको सफल बनाउन आग्रह गरेका छन्।
संघले बजेटको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा उपयुक्त नीति अवलम्बन गरी समग्र पर्यटन तथा होटल उद्योगको वृहत्तर विकास र विस्तारमा सहयोग पुग्ने गरी सुझाव प्रस्तुत गरेको हो।
उक्त अवसरमा संघका अध्यक्ष विनायक शाहले पूर्वाधारको उचित व्यवस्थापन हुन नसकेकाले होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको र मागको अनुपातमा होटेल रुमको अत्यधिक आपूर्ति रही क्षमताको एक तिहाई मात्र माग रहेको हुँदा नियमित किस्ता र नियमित व्याज भुक्तानमा कठिनाई भएकाले व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योग सरह कर्जाको साँवा व्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गरेको हो।
अध्यक्ष शाहले होटलको डलर खाता प्रयोग गर्न विभिन्न निकायको अनुमति तथा सिफारिस प्राप्त गर्नूपर्ने र सो प्रक्रियामा समय लाग्ने भएको हुनाले होटललाई भुक्तानी गर्न सहज हुने गरी, होटलको स्तर हेरी अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराई दिँदा थप प्रभावकारी हुने बताउँदै उनले पर्यटकले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भएसँगै हालको प्रावधान अनुसार पर्यटकहरुले एक पटकमा अमेरिकी डलर ३ सय मात्र सटही गर्न पाउने भन्ने रहेको हुँदा ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटकहरुका लागि यो रकम अपर्याप्त भएकोले यसलाई बढाउन आग्रह गरे।
अधिकांश होटलको देश विदेशबाट अनलाइन प्लाटफर्ममार्फत बुकिङ आउने गरेको परिप्रेक्ष्यमा अनलाईन बुकिङ प्लाटफर्मबाट भारतीय तथा नेपाली नागरिकले बुकिङ गरेको खण्डमा बुकिङवापतको रकमको भुक्तानी आ-आफ्नो मुद्रामा गर्ने गरेको तर उक्त प्लाटफर्मलाई कमिसन डलरबाट गर्नुपर्ने बाध्यता रहेकोमा यसको समाधान गरिनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराएको थियो।
सुझाव पत्रमा नेपाल सरकारले समेत होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग, विशेष उद्योग सरहको छुट तथा उत्पादनमूलक उद्योग सरहको छुट तथा सुविधा प्रदान गरी राष्ट्रिय महत्वको उद्योगको मान्यता दिएको हुँदा तहाँबाट समेत यसै अनुसार विशेष प्राथमिकतामा राखेर प्रदान गरिने कर्जामा बेस रेटमा एक प्रतिशतभन्दा नबढ्ने गरी व्याज कायम गर्दै पर्यटन उद्योगको मेरुदण्डको रुपमा रहेको यस होटल उद्योगलाई प्रोत्साहन नीति अवलम्बन गरिनुपर्ने उल्लेख छ।
उक्त अवसरमा गभर्नर डा. पौडेलले सकारात्मक आश्वासन व्यक्त गरेको होटल संघ नेपालले जनाएको छ।