काठमाडौं। खाडी मुलुक यतिबेला इजरायल र इरानबीचको युद्धको चपेटामा परेका छन्। त्यसको असर नेपालमा समेत देखियो। इरानले अमेरिकी सैनिक क्याम्पलाई लक्षित गर्दै सोमबार कतारमा सूचना दिएरै मिसाइल आक्रमण गरेपछि तत्कालका लागि सबै हवाई उडान राेकिए।
कतारले आफ्नो मुलुकमा सबै उडान रोकेपछि नेपालबाट कतार जाने र ट्रान्जिट भएर अन्यत्र मुलुक जाने यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिए।
सोमबार बेलुकी एक्कासि उडान रोकिएपछि कतार, दुबई जान विमानस्थल पुगेका सयौं यात्रु अलपत्र परे। सोमबार हिमालय एयरलाइन्सका तीन वटा र नेपाल एयरलाइन्सको एउटा उडान रद्द भयो। द्वन्द्वका कारण उडान रद्द भएको सूचना जारी भएसँगै हिमालय र नेपाल एयरलाइन्सले यात्रुलाई होटलमा बस्न वा घर जान सक्ने सुविधा दिए। केही यात्र घर गए भने केही होटलमा बसे। तर, केही यात्रु विमानस्थलभित्रै बस्न चाहे।

उनीहरुले युद्धलाई वहाना बनाएर खासगरी नेपाल एयरलाइन्सको जहाज बिग्रिएको हुन सक्ने अनुमान लगाउँदै विमानस्थलभित्रै बोडिङ लिने ठाउँमै नाराबाजी गर्न थाले। जब यात्रुले नाराबाजी गर्न थाले, त्यहाँ रहेका सुरक्षाकर्मीले बाहिर निकाले।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यात्रुलाई होटलमा बस्ने र घर फर्किने सुविधा दिँदादिँदै पनि यात्रुले होहल्ला गर्न थालेपछि सुरक्षाकर्मीले बाहिर निकालेको बताए। ‘विमानस्थल आफैंमा संवेदनशील क्षेत्र हो,’ सूचना अधिकारी भुलले भने, ‘यात्रुले होहल्ला गरेपछि प्रहरीले बाहिर निकालेको हो।’
यात्रु अलपत्र परेको खबर सुनेपछि प्राधिकरणका उच्च अधिकारी मंगलबार बिहानै विमानस्थलमा पुगेर निरीक्षण गरेका थिए। ‘हामी पुगेर त्यहाँ सोधखोज गर्दा यात्रुले होहल्ला गरेको थाहाँ पायौं,’ सूचना अधिकारी भुलले भने, ‘एयरलाइन्सले सुविधा नै नदिएको भन्ने हल्ला गलत रहेछ।’
कुनै समस्या भएर ५ देखि ७ घन्टाअघि नै उडान रोकिएको जानकारी नदिई विमानस्थलमा पुगेको अवस्थामा सम्बन्धित एयरलाइन्सले नै यात्रुलाई बसोबास र खानाको व्यवस्था गर्नुपर्छ। सोमबारको घटना पनि एक्कासि भएको र एयरलाइन्सले सबै सुविधा दिँदादिँदै पनि यात्रुले नै अटेर गरेर हल्ला गरेको कारण समस्या भएको उनको भनाइ छ।
ट्रान्जिट यात्रु अझै कतारमा नलैजाने
कतारले सोमबार एक्कासि सबै उडान रोके पनि मंगलबार बिहानदेखि खुलाएकाे छ। तर, अहिले पनि त्यहाँका सबै विमानस्थल जहाजले भरिएका छन्। त्यसैले पहिलो चरणमा नेपालसहित अन्य मुलुकबाट कतार जाने यात्रुलाई मात्रै लैजाने र बुधबारदेखि मात्र ट्रान्जिटका यात्रु लैजाने सूचना जारी गरेको छ। नेपालबाट कतारमा जाने यात्रुलाई मात्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान सुरु गरेका छन्।
कतार एयरवेजले मंगलबार बिहानको उडान रद्द गरेको छ। उसले मंगलबार साँझ एउटा उडान मात्र गर्नेछ। कतारले हाल नेपालबाट दैनिक दुई उडान गरिरहेको छ। पहिलो चरणमा कतारमा जाने यात्रुलाई पनि कतार एयरवेजले उडान गर्ने तयारी गरेको जनाएको छ।