तनहुँ। तनहुँको भीमाद नगरपालिका–९ को भानुमती जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानी खेती सुरु गरिएको छ।
मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानी खेती गरिएको भानुमती कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए।
कृषि उत्पादन बढाएर वडा–८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानी खेती सुरु गरेको उनको भनाइ छ। उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ।
खुर्सानी खेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक ६ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ।
यहाँ उत्पादित खुर्सानी पोखरा, भीमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ। हाल बजारमा प्रतिकेजी ३०० देखि ५०० थोक मूल्य रहेको छ। खुर्सानी बिरुवा उत्पादनका लागि वडा–९ ले १ लाख अनुदान दिएको थियो।
उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ।
सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफी खेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ।–रासस