काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थाइल्यान्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्यान्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन्।
जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गरेका हुन्।
नेपाली दूतावासको आयोजनामा बैंककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्यान्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य बिमाबारे त्यहाँको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ। दुवै देशको परिस्थितिबारे जानकार नेपालीबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे।
‘हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौं। तपाईंहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छन्’, मन्त्री पौडेलले भने।
नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्यान्डमा नेपाली चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेको उल्लेख गर्दै उनीहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताए।
छलफलमा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको प्रतिबद्धता जनाए।
सहभागी स्वास्थ्य बिमाका जानकारले थाइल्यान्डको अभ्यासबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए। मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्।