चितवन। अत्यधिक गर्मी बढेसँगै अन्डा उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ। विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अन्डा उत्पादन पनि कम भएको छ। २५ प्रतिशत हाराहारी उत्पादन घटेको छ। यो मौसममा रोग देखिने गर्दछ। पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ, जसले उत्पादन घटाउँछ।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ। संघले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ। बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट चार सय ८० र मझौला चार सय ५० कायम गरिएको छ। दुवैमा प्रतिक्रेट ३० वृद्धि भएको हो।
व्यवसायीले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो तीन हजार ५४० र मझौला तीन हजार ३३० मा बिक्री गर्ने पोखरेलले बताए। चार महिनाअघि दैनिक ४० हजार कार्टुन अन्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलको भनाइ छ।
गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन्। विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अन्डाको माग बढेको उनी बताउँछन्। अन्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो।
धेरै किसान विस्थापितसमेत भएका छन्। गत वर्ष प्रतिक्रेट पाँच सय २५ सम्म पुगेको अन्डाको मूल्य घटेर तीन सय ५० मा झरेको थियो। नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट यहाँ ल्याइएका नमुना हेर्दा ५० फार्ममा एच ९ (एचनाइन) रोग संक्रमण देखिएको छ।
यससँगै गम्बारो, साल्मोनेलाजस्ता समस्या छन्, जसले गर्दा अन्डाको उत्पादन घटेको उनी बताउँछन्। वर्षाको समय गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने उनले जानकारी दिए।–रासस