काठमाडौं। ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सब–इन्जिनियर सविन दाहालको मृत्युु भएको छ।
महाँकाल गाउँपालिका–६ का वडाध्यक्ष विनोद चौलागाईंका अनुसार बुधबार साँझ ठूलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धि बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो।
‘खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो। हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौं। यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकोप्टर मगाएका छौं’, उनले भने।
विष्णुमती बाढीले बगाएकी एक महिलाको उद्धार
टोखामा विष्णुमती खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार गरिएको छ।
ग्रान्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङको तुलसीपुर घर भई टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्।
बागमती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार गए राती करिब १० बजे खोलामा बसेर बाढीमा बगेको थियो।
कार अंकुश सिंहले चलाएका थिए। उनी तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए।
गाडीभित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो। सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए।